सिन्धुली । मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नं. ४ मा पिकअप भ्यानले ठक्कर दिंदा बुधबार एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
काठमाण्डौँबाट कटारीतर्फ जादैँ गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गााडीले ठक्कर दिंदा दुधौली नगरपालिका वडा नं. १ गिचिहानीका करीव ६०, ६५ वर्षिय मोहन धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
गाडीको ठक्करबाट टाउको र शरिरका विभिन्न भागमा चोट लागि गम्भिर घाईते भएका धामीको स्थानीय कमलाखोच अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि दुधौली नगर अस्पताल सिर्थौली पठाएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
पैदल यात्रीलाई ठक्कर दिने पिकअप गााडी र चालक झापा शिवसतासी नगरपालिका ७ निवासी २९ वर्षिय अभिषेक अधिकारीलाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान थालेको सुवेदीले जानकारी दिए ।




















