सिन्धुली । अपांगता भएका व्यक्तिहरुलाई सार्वजनिक सवारी साधनको भाडामा पचास प्रतिशत छुट कार्यान्वयन गर्न माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको ध्यानाकर्षण गराईएको छ ।
सिन्धुली अपांग महिला संघ सिन्धुलीले जिल्लामा अपांगता क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरुको समेत साथमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगि ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा जिल्लामा अपांगता भएका व्यक्तिहरुले सार्वजनिक यातायातको साधन प्रयोग गर्दा सवारी धनीले उपलब्ध गराउनुपर्ने सहुलियत, छुट कार्यान्वयनमा आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।
जिल्लाका सुरक्षा अधिकारीहरुको बीचमा सिन्धुली अपांग महिला संघका अध्यक्ष दिलकुमारी देवकोटा –दिपा) ले उक्त ध्यानाकर्षणपत्र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुझाईन । ध्यानाकर्षण पत्र बुझाउँदै उनले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सेवा समेत अपांगतामैत्री बनाउन सुझाव दिएकी थिईन ।
यस्तै प्रमुख जिल्ला अधिकारी भुसालसँग अपांगता भएका व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा सेवा लिँदा भएका समस्याहरु राखेका थिए । उनीहरुले उपल्लो दर्जाका कर्मचारी भेट्न माथिल्लो तला जान नसकिने, अपांगता भएका व्यक्तिहरुको डेक्स नै अपांगमैत्री नभएको, सेवा लिँदा लाईनमा बस्नुपर्ने, दोभासे नहुँदा समस्या भोग्नु परेको लगाएतका गुनासो गरेका थिए । यस्तै उनीहरुले सरकारी कार्यालयहरुमा अपांगतामैत्री वातावरण र संरचना बनाईदिन समेत प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सेवा लिन आउने अपांगता भएका व्यक्ति र अपांगता भएका व्यक्तिको काम लिएर आउने व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखिने, प्रमुख जिल्ला अधिकारी (आफु) ले नै उनीहरुको काममा सहजीकरण गरिदिने र प्रमुख जिल्ला अधिकारी कार्यालयमा नभएको बेलामा सहायक प्रमुख जिल्ला अधिकारीले सबै काम गरिदिने गरि व्यवस्था मिलाउने, अपांगता भएका व्यक्तिहरुको सहजताका लागि सकिने जति संरचनामा समेत परिवर्तन गरिने बताए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ भुसालले यातायात व्यवसायीहरुसँग समन्वय गरि तत्काल यातायातमा हुने छुट र अन्य सुविधा प्रभावकारी कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीलाई निर्देशन समेत दिएका छन ।
भुसालले अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता लगाएतका सेवा दिने गरि वातावरण निर्माण गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन । यस्तै जिल्लामा रहेका अन्य सरकारी संरचनालाई अपांगतामैत्री, जेष्ठ नागरिक मैत्री बनाउन सहजीकरण समेत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।





















