सिन्धुली । दुधौली नगरपालिका वडा नं. २ मा रहेको मधुगंगा महादेव मन्दिर नजिकै कालिडाँडामा साउन ५ गते भारतीय नागरिकको हत्यामा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनुमति विना भरुवा बन्दुक राख्ने र गोली प्रहार गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
स्थानीय विष्णु बहादुर घिसिङको घरमा रहेको भरुवा बन्दुक प्रयोग गरि भारतको सितामढी जिल्लाको भवदेपुर वडा नं. ११ का २५ वर्षिय पंकज कुमार भगतको मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न रहेका एक जना भारतीय र दुई जना भरुवा बन्दुक राख्ने व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए । बन्दुक धनी विष्णु बहादुर घिसिङ, उनकी श्रीमति तिलमाया घिसिङ र भारतको सितामढी जिल्लाको भवदेपुर वडा नं. ११ का अविनिस कुमार दासलाई पक्राउ गरिएको सुवेदीले जानकारी दिए ।
उनका अनुसार तिलमायालाई साउन ६ गते, विष्णुलाई साउन ७ गते र दासलाई साउन १४ गते पक्राउ गरिएको हो । दासलाई मधेश प्रहरीको सहयोगमा धनुषा ९ मा भारतको सिमा क्षेत्रबाट पक्राउ गरिएको उनले बताए । उनीहरुलाई हातहतियार, खरखजना तथा हत्या अभियोगमा मुद्दा दर्ता गरि अनुसन्धान गरिरहेको एसपी सुवेदीले जानकारी दिए ।
विश्रामका क्रममा घरमा रहेको बन्दुक समाएर फोटो खिच्ने क्रममा पड्केर पंकजको छातीमा लागेको अनुसन्धानमा खुलेको समेत उनले बताए । उनका अनुसार पोष्ट मार्टममा गोलीको छर्रा समेत भेटिएको बताए । गोली हानेर पछि गोली निकाल्ने प्रयासका बाबजुद मृतकको छातीभित्र चक्कु, कचिया प्रयोग गरेको पाईएको पनि उनले बताएका छन । मृतक भेटिएको घटनास्थलमा प्रहरीले चक्कु र कचिया समेत बरामद गरेको थियो । जसका कारण घटना कसरी भएको आँकलन गर्न निक्कै कठिन भएको पनि उनले बताए । ‘पोष्टमार्टम पछि मात्रै घटनाको वास्तविकता थाहा भयो,’ उनले भने ।
घटनामा प्रयोग गरिएको बन्दुक प्रहरीले साउन ६ गते तिलमाया घिसिङको घर नजिकैको जंगलमा लुकाई राखेको अवस्थामा बरामद गरेको थियो । सितामढीका २० जना युवाहरु मधुगंगा महादेव मन्दिर दर्शनका लागि दुधौली आएका थिए ।



















