सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. ६ भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएको उर्मिला हायुको परिवार वेपत्ताको घटना थप रहस्यमयी बन्दै गएको छ । हायुको परिवारका १६ जना हराएको सूचना पाएपछि प्रहरी, स्थानीय जनप्रतिनिधिहरु, स्थानीयबासीहरु लगाएत उक्त घरमा गएका थिए ।
सोमबार विहान करिब नौ बजेतिर घर भन्दा माथिको गोठमा भैंसीको पाडो कराएपछि र हायु परिवारको चहलपहल नदेखेपछि स्थानीयले घरमा पुगेर हेरेका थिए । घरमा कोहि नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।
के छ घटनास्थलमा ?
इलाका प्रहरी कार्यालय खुर्कोटको टिम, गोलञ्जोर गाउँपालिका ६ का वडा अध्यक्ष रविन श्रेष्ठ सहितका स्थानीय जनप्रतिनिधिहरु, गोलञ्जोर गाउँपालिकाको विपद व्यवस्थापन शाखाका प्रमुख हरिकिशोर कार्की सहितको टोली यति बेला घटनास्थलमा छ । हायु परिवार वेपत्ताको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरिक्षक सहितको टोली खटिएको छ ।
घटनास्थलमा पुगेका विपद व्यवस्थापन शाखाका प्रमुख हरिकिशोर कार्कीसँग हामीले कुराकानी गरेका छौं । कार्कीले फोन सम्वादमा यस्तो बताएका छन ।
उर्मिला हायुको परिवार १८ जनाको हो । उनीहरु (उर्मिला हायुका परिवार) मध्ये एक जना काठमान्डौमा रहेको र एक जना बुहारी विदेशमा रहेको जानकारी पाईएको छ । विहिबार उनीहरुको परिवारमध्येको १६ जना नै वडा कार्यालयमा गएर सामाजिक सुरक्षा भत्ता नविरकण गराएका थिए । विहिबार उनीहरुले भत्ता समेत बुझेर घर आएका थिए रे । घरमा जेठा छोरा विदेशबाट आएका थिए । जेठा ज्वाई, माईला ज्वाईं, जेठा छोराका दुई वटी साली समेत घरमा आएका थिए भन्ने सुनियो । यसले कति मानिस वेपत्ता हुन भन्ने विषयलाई थप रहस्यमयी बनाएको छ । घरको बाहिर पाली जोडेर बनाएको भान्सामा आगो लागेको छ । पाली अड्याउने खाँवा भाँच्चिएको छ । अँगेना नजिकै बाटी भरी सुँगुरको नपकाएको मासु छ । केहि गन्हाएको छ । घरमै पालेको सुँगुर काटेको हुनुपर्छ । घरका लुगाफाटो बाहिर फालेको देखिन्छ । घरमा त्यस्तो धेरै सामान केहि देखिँदैन । ६ वटा बाख्रा बाँधेको थियो । ती बाख्रा अहिले प्रहरीले खोलिदिएको छ । १५, १६ वटा कुखुरा पनि रहेछन । कुखुरा छोडेका थिए । घर वरिपरी, खोल्सा, जंगल लगाएत सम्भावित ठाउँ सबै खोजिएको छ तर फेला पार्न सकिएको छैन । प्रहरीले फोन लोकेशन खोज्न सुरु गरेको छ । कसैको फोन लाग्दैन । घरमूली रहेकी उर्मिला हायुको फोनमा भने तीन दिन अघि रामेछापको सिमन्दीछापमा अन्तिम लोकेशन देखाएको प्रहरीले हामीलाई जानकारी दिएको छ । उनीहरु कहिलेदेखि घरमा छैनन भन्ने कसैलाई जानकारी छैन । घरबाट सबैभन्दा नजिकको घरमा पुग्न १५ मिनेट समय लाग्छ । घरको माथि गोठमा बाँधिएको भैंसीलाई घाँसपात गर्न तीनदिनदेखि हायु परिवार नगएपछि गोठ नजिकैका छिमेकीले खोजी गर्दा उनीहरु घरमा नभएको थाहा भएको थियो । उनले प्रहरी र वडा अध्यक्षलाई खबर गरिदिएका थिए ।
के भन्छ प्रहरी ?
प्रहरीले खोजतलासमा आफ्ना सबै संयन्त्र प्रयोग गरिरहेको जनाएको छ । प्राप्त फोन नम्बरमध्ये एउटा मोवाईल नम्बरमा ३ दिनअघिको लोकेशन रामेछापको छापमा देखिएपछि रामेछापबाट प्रहरी टोली त्यता गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताएका छन । प्राप्त सबै फोन नम्बर स्वीच अफ रहेको पनि सुबेदीले जानकारी दिएका छन ।
प्रहरीले वेपत्ता हुनेहरुको पहिचान खुलाएको छ । वेपत्ता हुनेमा ४५ वर्षिय उर्मिला हायु, उनका ६ जना छोरा, ६ जना छोरी, १ जना बुहारी, १ जना ज्वाईं र १ जना नातिनी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन । उनका अनुसार घरको पालीमा खरको छानाले बनाएको भान्सा १, २ दिन अघि नै आगो लागेको छ । घरको अन्य भागमा क्षती छैन । उक्त घरमा रहेका पशु चौपाया सुरक्षित छन । उर्मिलाका छोराहरु राजु हायु, हिमाल हायु, लाल बहादुर हायु, डेग बहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु, र छोरीहरु कमला हायु, सुधा हायु, सुजता हायू, उषा हायु, अस्मिता हाय र कोमला हायु रहेको पनि खुलेको प्रहरीले जनाएको छ ।




















