सिन्धुली । समाचारको विषयलाई लिएर पत्रकार बुद्ध नेपालीलाई कुटपिटको धम्कि दिनेलाई नेपाल पत्रकार महासंघ सिन्धुलीले कारवाहिको माग गरेको छ ।
विहिबार प्रेस विज्ञप्ती प्रकाशित गरि महासंघले पत्रकारलाई धम्कि दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघले घटनामा संलग्न दोषीलाई कारवाहि गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको हो ।
नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिव नविनवाबु अधिकारीले जारी गरेको विज्ञप्तीमा पत्रकार नेपालीलाई नेपाल समाचार पत्रमा विहिबार प्रकाशन भएको ‘सम्झौता अवधि सकिंदा सिम्ले हायुटार सडकको प्रगति ४५ प्रतिशत’ शिर्षकको समाचारलाई लिएर सडक निर्माणको जिम्मा लिएका सुवास वाईवाले धम्काईएको उल्लेख गरिएको छ ।
सडक निर्माणको ठेक्का लिएको जयवावा गोरख सारस बालकोट जेभिले सडकको निर्माणको कामको जिम्मा दिइएका वाईवाले समाचारप्रति असन्तुष्टि जनाउँदै धम्काउनु निन्दनिय भएको महासंघले जनाएको छ ।
समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्न वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रावधान हुँदा हुँदै पत्रकारलाई धम्काउनु प्रेस स्वतन्त्रता विरोधी घटना भएको महासंघले जनाएको छ ।
महासंघले घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएर कारवाहि गर्न र प्रेसको संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।




















