सिन्धुली । दुग्ध व्यवसायीहरुको लागि सञ्चालन गरिएको चिलिङ भ्याट मर्मत संंभार तथा सञ्चालन सम्बन्धि तालिम शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । तालिममा चिलिङ भ्याट सञ्चालन गर्ने तरिका, मर्मत संम्भार र रेखदेख, दुध चिसो पार्ने तरिका सिकाईएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्ड ललितपुरको आयोजनामा सुरु भएको पाँच दिने तालिममा सिन्धुली, धनुषा र सर्लाहिका १४ जना दुग्ध व्यवसायीहरुको सहभागिता रहेको थियो ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज गजुरेलको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष बिमला पाण्डेले सिकेको सिपलाई व्यवसायीक रुपमा प्रयोग गरेर उत्पादनमा जोडिन दुग्ध व्यवसायीहरुलाई आग्रह गरेकी छिन । उनले तालिममा सिकेको सिप स्वदेशमै प्रयोग गरि देशको अर्थतन्त्र विकासमा टेवा पु¥याउन तालिममा सहभागिहरुलाई अनुरोध गरेकी छिन । उनले भनेकी छिन, ‘सिप सिकेर विदेश जाने लहर चलेको छ । तपाईहरुले सिकेको सिप देशमै प्रयोग गरि सफल व्यवसायी बनेर आर्थिक संमृद्धिमा टेवा पु¥याउनुहोस ।’
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ सिन्धुलीका सचिव खडानन्द तिमल्सिनाले व्यवसायीक क्षेत्र धरासायी बन्दै गएको बताउँदै कृषि उत्पादनमा ध्यान दिन आग्रह गरे । उनले कृषि व्यवसायलाई प्राथमिकतामा नराखे देशमा झनै आर्थिक संकट बढ्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज गजुरेलले दुधको उत्पादन, व्यवसायीकरण र बजारीकरणमा सरकारी निकायहरु उदासिन बन्दै गएको बताए । उनले जिल्लामा दुध उत्पादनलाई छुर्पी, बटर लगाएतका उद्योगहरुको अधिक सम्भावना रहेको बताए । कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।





















