सिन्धुली । मदनभण्डारी राजमार्ग अन्तर्गत हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ को द्धारखोला पुलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ । काठमान्डौबाट भोजपुरतर्फ यात्रु बोकेर जाँदै गरेको बागमति प्रदेश– ०१–००६ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।
बसमा चालिस जना भन्दा बढी यात्रु रहेको र घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पतालमा ल्याईदै छ ।
पाँच बजेसम्म सिन्धुली अस्पतालमा २ जनाको शव र १८ जना घाईतेलाई ल्याईएको छ भने बाँकी घाईतेहरु ल्याउने क्रममा रहेको बताईएको छ । अस्पतालमा ल्याईएका मध्ये ६ जनाको अवस्था गम्भिर रहेको सिन्धुली अस्पतालका प्रमुख अभिशेष थपलियाले जानकारी दिएका छन ।
घटनास्थलमा महेन्द्रझाडी प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कपिलाकोटको टिम र जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्ले सहितको टोली, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीयहरु खटिएका छन । उद्धार र उपचारको काम जारी छ भने विस्तृत विवरण आउन बाँकी छ ।
























