सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ को द्धारखोला पुलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ । काठमान्डौबाट भोजपुरतर्फ यात्रु बोकेर जाँदै गरेको बागमति प्रदेश– ०१–००६ख ६७८५ नम्बरको बस मदनभण्डारी राजमार्गमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
बस दुर्घटनामा परि २३ जना घाईते भएका छन । घाईतेमध्ये गम्भिर घाईते भएका १० जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि रिफर गरिएको छ । सामान्य घाईते भएका १० जना उपचारपछि डिस्चार्ज भएका छन भने ३ जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।
एसपी काफ्लेका अनुसार मृतक २ जनामध्ये एक जनाको पहिचान खुलेको छ । मृतकको साथमा रहेको एटिएम कार्ड र अन्य कागजपत्रको आधारमा मृतकको पहिचान खुलेको काफ्लेले बताए । पहिचान खुलेका मृतक भोजपुर हतुवागढीका बुद्धिमान तामाङ रहेको उनले जानकारी दिएका छन ।
घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पतालमा ल्याईएको थियो । घटनास्थलमा महेन्द्रझाडी प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कपिलाकोट, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्ले सहितको टोली, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीयहरु खटिएका छन । गाडी पुलमा पल्टिएको थियो । घाइतेहरु सबैको पहिचान खुलिसकेको छ ।





















