सिन्धुली । गोलन्जोर गाउँपालिका–७ पलासेमा विङ्गर गाडी दुर्घटना हुँदा चालक सहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको विङ्गर गाडी बीपी राजमार्ग अन्तर्गत पलासेमा अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी सडकबाट करिब २० मिटर तल अँधेरी खोलाको बगरमा खसेको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते हुनेमा नामथर र ठेगाना नखुलेका अन्दाजी ३५ देखि ४० वर्षका पुरुष, धनुषाको जनकनन्दिनी गाउँपालिका–९ की ३५ वर्षीया सीता यादव, उनका १४ वर्षीय छोरा पियुस गोहित, तीन वर्षीय ओम साह गम्भीर घाइते भएका छन् ।
त्यस्तै शहीदनगर नगरपालिका–७ का १५ वर्षीय प्रिन्स साह र ३९ वर्षीय श्यामबहादुर मण्डल र धनुषाको जनकनन्दिनी गाउँपालिका–२३ का दीपेन्द्र यादव मध्यम घाइते भएका छन् ।
यी सात जना घाइतेलाई थप उपचारको लागी दिउँसो हेलिकप्टर मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
घाइतेमध्ये चालक धनुषाको शहीदनगर नगरपालिका–४ का ३६ वर्षीय दीपक कुमार दासको अवस्था सामान्य रहेको छ । त्यस्तै, धनुषाको शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानीकुमारी मण्डल, १५ वर्षीय आयुष गोहित, १२ वर्षीया रुबी गोहित, ललितपुरको भैँसेपाटी बस्ने २६ वर्षीया प्रियङ्का साह, उनका १६ र ११ वर्षीया छोरीहरू जेनी र सफलता साह तथा ६२ वर्षीय रामदेव साहको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।





















