सिन्धुली । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीको संयुक्त टोलीले मंगलबार घुम्ती खाद्य प्रयोगशाला सहित जिल्लाका खाद्य बजारको अनुगमन गरेको छ ।
विपी राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्ट र सिन्धुलीमाढी बजारका मिठाई पसलमाहरुमा अनुगमन गरिएको हो । ११ वटा होटल तथा रेस्टुरेन्ट, ३ वटा मिठाई पसल र १ वटा खाद्य उद्योग गरी कुल १५ वटा खाद्य व्यवसायको निरीक्षण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका सूचना अधिकारी अतिस घिमिरेले बताएका छन् ।
अनुगमनका क्रममा म्याद गुज्रिएका करिब १ हजार ५० रुपैयाँ बराबरका खाद्य सामग्री नष्ट गरिएको छ । त्यसैगरी, प्रयोगका क्रममा गुणस्तर खस्किएको तथा कुल ध्रुवीकरण पदार्थको मात्रा निर्धारित सीमाभन्दा बढी देखिएको करिब २ लिटर फ्राइङ तेल समेत नष्ट गरिएको घिमिरेले बताए ।
अनुगमनका क्रममा घुम्ती खाद्य प्रयोगशाला मार्फत खाद्य पदार्थको गुणस्तर परीक्षण गर्नुका साथै स्थलगत रूपमा खाद्य स्वच्छताको अवस्था निरीक्षण गरिएको थियो । होटल, रेस्टुरेन्ट तथा मिठाई पसलमा खाद्य पदार्थको गुणस्तर, उपभोग्य मिति, भण्डारण प्रक्रिया र सरसफाइको अवस्थाबारे जाँच गरिएको थियो ।
अनुगमन टोलीले उपभोक्तालाई समेत खाद्य सामग्री खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति, लेबल विवरण, प्याकेजिङ र गुणस्तरमा ध्यान दिन आग्रह गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीका कार्यालय प्रमुख दिनेश सुवेदीले घुम्ती खाद्य प्रयोगशाला मार्फत स्थलगत परीक्षण तथा अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर र स्वच्छताको अवस्था पहिचान गर्न सहज भएको बताए ।
उनले खाद्य व्यवसायमा स्वच्छता कायम गराउन र उपभोक्तालाई सुरक्षित खाद्य पदार्थ उपलब्ध गराउने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइने जानकारी दिए ।
त्यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले खाद्य व्यवसायीलाई स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उत्पादन, प्रशोधन, भण्डारण र बिक्री वितरण गर्न आग्रह गरेका छन् ।
उनले व्यक्तिगत सरसफाइ, उत्पादन तथा भण्डारणस्थलको स्वच्छता, उचित तापक्रममा खाद्य पदार्थ भण्डारण र म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री वितरण नगर्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताए ।
शंकास्पद वा अस्वच्छ खाद्य सामग्री बिक्री वितरण भएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।





















