सिन्धुली । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्नी सापकोटाले शान्ती प्रक्रिया राष्ट्रिय सहमतिमा नै टुंगिने दावी गरेका छन । उनले आफु माथि पनि द्वन्द्वकालिन मुद्दा रहेको बताउँदै शान्ति सम्झौतापछि चारवटा निर्वाचन भईसक्दा पनि शान्ति प्रक्रियाका काम नसकिनु आश्चर्यको विषय रहेको समेत बताए ।
प्रेस सेन्टर नेपाल सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले शान्ति प्रक्रियाका कामलाई प्रक्रियागत रुपमा बहुमतबाट पनि टुंग्याउन सकिने भए पनि राष्ट्रिय सहमतिलाई प्राथमिकतामा राखिएको बताए । उनले शान्ति प्रक्रियाका काम टुंगोमा नपुग्दा विश्वमा छाति फुलाएर बस्न नसकिएको बताए । शान्ति प्रक्रिया टुंग्याउन साझा सहमति खोज्नु आवश्यक रहेको उनको भनाई छ ।
उनले जनयुद्धमा लागेकोमा आफुलाई गर्व लागेको बताए । आवश्यक परे देशको उन्नती प्रगतिका लागि आफु फेरी पनि युद्ध लड्ने बताए । उनले राजनीतिमा लागेको व्यक्तिलाई मद्दा लाग्नु स्वभाविक रहेको र मुद्दा आउने जाने हुने बताए ।
मुद्दाले आफुलाई भट्टीमा खार्ने बताउँदै उनले ‘कि जितिन्छ कि सिकिन्छ’ हार्ने केहि नहुने बताए । जनताको जीवन स्तर उठाउने काम गर्नु आवश्यक रहेको बताउँदै आगामी बजेट जनताको सेवा प्रवाह र जीवन स्तर उठाउने गरि आउने समेत बताए । अहिलेको सरकारले समाजवाद उन्मुख नीति तथा कार्यक्रम बनाउनुपर्नेमा उनको जोड थियो ।





















