सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ३ की १८ वर्षिय बालिका मनिषा कुमारी गौतम बुधबार अपांगता क्षेत्रमा क्रियाशिल गैह्रसरकारी संस्था सिन्धुली अपांग महिला संघ सिन्धुलीको एकदिने अध्यक्ष बनेकी छिन ।
सिन्धुली अपांग महिला संघ सिन्धुलीको कार्यकक्षमा गौतमलाई सिन्धुली अपांग महिला संघका अध्यक्ष दिपा देवकोटाले पद हस्तान्तरण गरिन । गौतम प्लान नेपाल इन्टरनेशनलको गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत सो पदमा पुगेकी हुन ।
यो कार्यक्रममा बालिकाहरुलाई नेतृत्वमा पुग्नका लागि हौसला प्रदान गरिन्छ । साथै नेतृत्व लिनका लागि आत्मबल प्रदान गर्ने गरिन्छ । यो कार्यक्रममा पद लिन प्रेरित गर्ने र जिम्मेवारी लिएको पद अनुसारको कर्तव्यबारे छलफल गराईदै आएको छ । जसमा बालिकाहरुको सहभागिता हुदै आएको छ ।
प्लान नेपालको साझेदारीमा काम गरिरहेका जनजाती समाज विकास कार्यक्रम, सिड्स नेपाल र मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीले यो कार्यक्रम सञ्चालन गर्दै आएका छन । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नयाँ अध्यक्ष गौतमलाई बालिकाहरुले अपांगता भएका व्यक्तिका लागि के काम गर्नुहुन्छ भनि प्रश्न गरेका थिए । गौतमले अपांगता भएका व्यक्तिहरुको अधिकारका सवालमा काम गर्ने, अपांगता भएका व्यक्तिलाई रोजगारी सिर्जना गर्न काम गर्ने, अपांगता भएका व्यक्तिलाई प्रविधिसँग जोडेर काम गर्ने बताईन । उनले संघका अध्यक्ष दिपा देवकोटालाई अपांगता क्षेत्रमा संस्थाले कसरी काम गरेको छ ? के काम गरेको छ ? भन्दै जानकारी लिएकी थिइन ।
प्लान नेपाल इन्टरनेशनल पूर्वी क्षेत्रीय कार्यालय धनुषाका बाल प्रत्याभूत सञ्चार परियोजना प्रमुख अञ्जु शाक्यले मनोवल बढाउने र बालिकालाई सिक्ने सिकाउने अभियान हो । बालिकाहरुलाई नेतृत्व लिन हौसला प्रदान गर्न गल्र्स टेक ओभर कार्यक्रम सञ्चालन गरिएको बताईन ।
कार्यक्रम सकिएपछि पुनः दिपा देवकोटालाई गौतम पद हस्तान्तरण गरि कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सिन्धुली अपांग महिला संघ सिन्धुलीका अध्यक्ष दिपा देवकोटालाई बालिकाहरुले कसरी अपांगता अधिकारका क्षेत्रमा काम गर्न पुग्नुभयो ? भनि जिज्ञासा समेत राखेका थिए






















