सिन्धुली । सिन्धुली प्रहरीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ । गाँजा सहित तीनजनालाई पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ । कमलामाई नगरपालिका ४ खहरेखोलाबाट ६८.४८२ किलो गाँजा सहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१ ओखलेका ४३ वर्षीय कालु ब्लोन, १९ वर्षीय कृष्णबहादुर ब्लोन र मरिण गाउँपालिका–७ देवसरा बस्ने बहादुर गोले रहेका छन् ।
उनीहरूलाई फागुन आइतबार पक्राउ गरिएको हो । सोमबार अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरेसँगै उनीहरुलाई सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाले कालु र कृष्णबहादुरले टाउकोमा एक÷एकवटा बोरा बोकी पञ्चकन्या वनतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको बताए । बोरा समेत खानतलासी गर्दा कालुको साथबाट एक थान मोबाइल र २२ हजार रुपैयाँ समेत बरामद भएको लामाले जानकारी दिए । बोराभित्र चारवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध गाँजा बरामद गरिएको उनको भनाइ छ ।
कृष्णबहादुरको साथबाट एक थान मोबाइल, उनले बोकेको पहेलो रङ्गको प्लाष्टिकको बोराभित्र तीनवटा इँटा आकारको प्लाष्टिकले बेरीको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।
उनीहरूबाट बरामद गरिएको गाँजा तौल गर्दा कालुको साथबाट २०.३४ केजी र कृष्णबहादुरका साथबाट १६.२७ केजी गाँजा बरामद भएको उनले जानकारी दिए ।
उनीहरूलाई सोधपुछ गर्दा कालुले अरू थप लागूऔषध गाँजा आफ्नो भान्जा नाता पर्ने बहादुर गोलेसँग छ भनेपछि खोजतलास गरि गोलेलाई समेत पक्राउ गरिएको लामाले बताए । बहादुर गोलेसँग ३२.२३२ किलो गाँजा फेला परेको उनले बताएका छ । गोलेलाई मरिण गाउँपालिकाको देवसरा भन्ने स्थानबाट गाँजा सति पक्राउ गरिएको हो ।
पक्राउ गरिएकाको तीनजनाको साथबाट ६८.८४२ केजी गाँजा बरामद भएको र तीनै जनाविरुद्ध लागूऔषध ऐन अनुसार थप अनुसन्धान सुरु गरिएको डिएसपी लामाले बताए ।




















