सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. १ को सिक्रे र वडा नं. २ को हिलेपानी जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न नहुदै भत्किएको छ । चँदाहा नदीमा सोमबार राती आएको बाढीले नदीको धार परिवर्तन गर्दा निर्माणाधिन पुलको पिलर भत्किएको हो ।
बाढीले कटान गरि वडा नं. २ हिलेपानी तर्पmको पुलको पिलर भत्काएपछि पुलका लठ्ठा समेत खोलामा पुरिएका र लत्रिएको उपभोक्ता समितिका सचिव डिल्लीराम अधिकारीले बताएका छन । उनका अनुसार निर्माणका क्रममा पिलरमा नदीको बहाव पस्न सक्ने अनुमान समेत गरिएको थिएन । पिलर पूर्ण रुपमा क्षती भएको र लत्रिएर पुरिएर खोलामा रहेका सामानहरु तत्काल झिक्न नसकेमा थप नोक्सानी समेत हुन सक्ने उनले बताएका छन ।
यस्तै तिनपाटन गाउँपालिका वडा नं. १ का अध्यक्ष गोविन्द राउतले नदीले धार परिवर्तन गरि मधुगंगामा भुमरी पर्दा खोलाले पुलको पिलर खोलेर ढालेको बताए । उनका अनुसार उक्त पुल निर्माण सम्पन्न भएपछि वडा नं. १ का बासिन्दालाई गाउँपालिका जान छोटो र सहज बाटो हुने भएको थियो ।
यो पुल डोलिडारको ८८ लाख १७ हजार ८ सय ९१ रुपैंया लागत र स्वीस रेडक्रसको प्राविधिक सहयोगमा बन्दै गरेको योजना हो । जसमा गाउँपालिका मार्फत भुक्तानी तथा सामान खरिदको व्यवस्था गरिएको थियो । ११९ मिटर लामो उक्त फलामे पुल निर्माण कार्यको जिम्मा उपभोक्ता समितिलाई दिईएको थियो ।
२०७६ जेठ १७ गते सम्झौता गरिएको उक्त पुल डोलिडारको क्षेत्रगत कार्यक्रम मार्फत निर्माण गरिएको र प्राविधिक हिसावले कुनै कमी नगरि निर्माण गरिएको उक्त पुलका प्राविधिक पाटो हेरिरहेका रेडक्रसका जुनियर इन्जिनियर चित्र लुंगेलीले बताएका छन ।
२०७८ असार मसान्तमा निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि केहि समान अल्टर परेको र सामान साटेर हेटौडाबाट ल्याउन लकडाउनका कारण ढिलाई भएकाले निर्माण सम्पन्न हुन सकेको थिएन ।
साउन महिनाभित्र सबै काम सम्पन्न गर्ने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । पुल निर्माणका लागि उपभोक्ता समितिले सामान खरिद बाहेक पाउने रकम ४१ लाख ४४ हजार ७ सय ८७ रुपैंयामध्ये तिनपाटन गाउँपालिकाले अन्तिम किस्ता रकम मात्र भुक्तानी गर्न बाँकी रहेको थियो ।





















