सिन्धुली । कमलामाई नगरपालिकाले बुधबार आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भने पुरानै निरन्तरता बढी देखिएको छ । नगरपालिकाको नवौं नगरसभामा नगर प्रमुख खड्ग खत्रीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
सार्वजनिक गरिएको नीति तथा कार्यक्रम अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिईएको छ । यो वर्ष स्वास्थ्यमा भने नगरपालिकाले प्राथमिकता दिएको छ । नगरपालिका भित्रका सबै स्वास्थ्य चौकीलाई वर्थिङ सेन्टर सहितको सुविधा विस्तार गर्ने नगरपालिकाले नीति लिएको छ । कमलामाई नगरपालिका ९ भिमानको स्वास्थ्य चौकीमा एमविविएस चिकित्सक सहितको सेवा विस्तार गर्ने नीतिमा उल्लेख गरिएको छ ।
केहि समय अघि कार्यपालिकाले निर्णय गरेको कोभिड १९ को संक्रमणका कारणले ज्यान गुमाएका परिवारजनलाई १५ हजार काजकिरिया खर्च दिने निर्णयलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तै नगरभित्रका सुत्केरी हुने महिलाका लागि चाहिने रगत सहज र पूर्ण रुपमा निःशुल्क उपलब्ध गराउने नीति समेत नगरपालिकाले लिएको छ । नगरक्षेत्र भित्र सुत्केरी भएका महिलालाई घर जान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने समेत भएको छ ।
जेष्ठ नागरिकलाई पुरै दाँत निशुल्क हाल्ने व्यवस्था गरेको छ । नगरप्रमुख खत्रीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १०० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान र स्वास्थ्यलाई ध्यान दिर्दै दैनिक एक लिटर दुध उपलब्ध गराइने उल्लेख गरिएको छ ।
सुत्केरी महिलाहरुको सम्वेदनालाई मध्यनजर गर्दैसुत्केरी महिलालाई २ (दुई) केजी घीउ उपलब्ध गराउने नीति पनि नगरपालिकाले लिएको छ ।
सबै वडाहरुलाई विद्युत्तिय सञ्चारसँग जोड्ने र कागज रहित सेवालाई प्रयोगमा ल्याउने नीति पनि नगरको रहेको छ । निःशुल्क कानुनी सहायता कार्यक्रम, सीटी हल निर्माण, गायक कृष्ण विक्रम थापाको शालिक निर्माण, जातजाती संग्रहालय निर्माण, योगशाला, व्यायामशाला निर्माण, ‘महिला पुरुष बराबरी, विकास निर्माणमा समान जिम्मेवारी’ भन्ने नीति अनुसार महिलालाई नगरको हरेक विकासात्मक कार्यहरुमा पचास प्रतिशत सहभागिता अनिवार्य जस्ता नयाँ कार्यक्रम ल्याईएको छ ।
यस्तै पशु सुत्केरी भत्ता, मजदुर बिमा, दुई छोरी जन्माउने दम्पत्तिलाई सम्मान, कृषि विउविजनमा ५० प्रतिशत अनुदान, जेष्ठ नागरिकका लागि विश्राम भवन निर्माण, बावुआमा नभएका बालबालिकालाई छात्रबृति, एक वडा एक नमुना विद्यालय संचालन जस्ता कार्यक्रम दोहोराईएको छ ।
नगरसभामा पेश भएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित समेत भएको छ । यसैबीच नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को बजेट विहिबार आउने भएको छ ।




















