सिन्धुली । जिल्लामा सार्वजनिक सवारीका साधन मापदण्ड अनाएर सिट क्षमताको पचास प्रतिशत यात्रु राखेर चलाउन पाईने भएको छ । सोमबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति सिन्धुलीको बैठकले सार्वजनिक सवारी साधन चलाउन पाउने निर्णय गरेको हो ।
असार १५ गतेदेखि २१ गतेसम्मका लागि आंशिक लकडाउन थप गर्दै सार्वजनिक सवारी साधन खुला गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सूचना जारी गरि जनाएको छ । सार्वजनिक सवारी साधन जस्तै अटो, बस आदिको हकमा भने सिट क्षमताको ५० प्रतिशत आधा मात्र यात्रु राखेर जिल्लाभर चलाउन पाइने छ ।
यस्तै जिल्लामा अब दिनभर पसलहरु खुल्ने भएका छन । होटल बाहेकका सबै पसल विहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि खुला गरिएको हो । पसलहरु स्वास्थ्यका मापदण्ड पालना गरि खुलाइने भएको छ ।
होटल व्यवसायको हकमा भने टेक–अवे सेवा अर्थात होम डेलिभरी सेवा मात्र संचालन गर्न पाइने छ । त्यस्तै सम्पुर्ण सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय सेवाहरु पनि संचालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।



















