सिन्धुली । ‘जिउँदोमा जन्ती र मर्दाको मलामी’ अर्थात मर्दा पर्दा काम नलाग्ने छिमेकी के काम ? यस्तै भएको छ यहाँको कमलामाई नगरपालिका वडा नं. ३ को चपौलीमा रहेको देवकोटा टोलमा । यहाँका एक परिवारका छिमेकी जेनतेन मलामी त गए तर काजकिरीयामा सघाउन यहाँको समाजले सकेन । दलित विवाह गरेकै कारण पुरोहित कार्य गरिदिने मान्छे नपाएपछि उमेश देवकोटाको परिवारले १३ दिनको काम भाडामा पुरोहित ल्याएर एकै दिनमा सक्नु परेको छ ।
स्थानीय उमेश देवकोटाले १४ वर्ष अघि स्थानीय रमा नेपाली (ठटाल) सँग प्रेम विवाह गरे । अन्तर्जातिय विवाह केहि समय त्यहाँको समाज र देवकोटाको परिवारले अस्वीकार गरे पनि पछि सबैले त्यसलाई सहज रुपमा लिए । समाजले स्वीकार गरेपछि उमेश र रमाको जीवन सहजै चलेको थियो । उनीहरुबाट एक छोरा र १ छोरीको जन्म भयो । छोरा ११ वर्षका भए, छोरी ५ वर्ष ।
परिवार मिलेर बसेको थियो । न कुनै विवाद नै थियो । उनीहरुको गाउँमै सानो किराना पसल छ । पसलसँगै सानो होटल समेत चलाएका थिए । गाउँका मानिसहरु जातको कुनै वास्ता नगरि होटलमा आएर खाना, मासु, रक्सी सबै खान्थे । त्यतिबेला जातको कुरा कसैले वास्ता गर्दैनथ्यो ।
जव रमाले १० दिनअघि आफ्नै घरमा आत्महत्या गरिन । त्यसपछि भने समाजको असली रुप उमेशका परिवारले देख्यो । उनको मृत्युपछि त्यहाँका ब्राह्मण समुदायले रमाको लाश छोएनन । घाटमा हेर्नकै लागि १५० जना मलामी त पुगे तर घर परिवार र ससुराली बाहेक अरुले नजिक समेत गएनन् ।
काज किरिया गर्नु गराउनुपर्ने, गाउँभरी ब्राह्मण खोजे पाएनन । नत दलित तिरका ब्राह्मणले साथ दिए । नत ब्राह्मण तिरका ब्राह्मणले साथ दिए । उमेश र रमाका परिवारले काठमान्डौ, सर्लाहि वा जहाँ जहाँ पहुँच थियो बाहुन खोजे तर पाउन सकेनन् । जेनतेन सर्लाहिबाट एकजना पुरोहित ल्याए । मृत्यु भएको दशौं दिनका दिन सबै दिनको कामकाज सके ।
आएका पुरोहित पनि घरमा बस्न नमानेका कारण एकै दिनमा काम सक्नु परेको उमेशले बताए । उनका अनुसार ति पुरोहितलाई सर्लाहिबाट १० हजार भाडा तिरेर गाडी रिजर्व गरेर ल्याईयो । ११ वर्षको छोरालाई एकदिने क्रिया गराईयो । अब फेरी गाडी रिजर्व गरेर ज्याला दिएर पठाउने हो ।
उमेशको घरमा साला साली भाइ भतिजा बाहेक छिमेकीले १० दिनसम्म पाइला राखेका छैनन । उमेशका परिवारले ब्राह्मण नपाएपछि १३ दिनको काम एकै दिनमा सक्नुप¥यो ।
मृतकका भाई समिर ठटाल भन्छन ‘जिउँदो हुदा दिदीको घरमा आएर मासु भात खाए । दिदीको परिवारले नखाई नखाई ख्वाए । मर्दा काजकिरिया गराउन आउन मानेनन् ।’दलितका बाहुनले समेत काजकिरीया गराउन नमानेको ठटालले बताए । किन त्यस्तो भयो त ? उनले जवाफ दिए, ‘समाजको डरले उनीहरु पनि आएनन् ।’




















