सिन्धुली । शहीद सम्झना दाहालको स्मृृतिमा अनेरास्ववियु सिन्धुलीले अक्षय कोष स्थापना गर्ने भएको छ । २८ औं स्मृति दिवसका अवसरमा आयोजित स्मृति सभा कार्यक्रममा अनेरास्ववियु सिन्धुलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैंया बराबरको अक्षय कोष स्थापना गर्ने निर्णय सार्वजनिक गरेको हो ।
अनेरास्ववियु सिन्धुलीको यहि फागुन २० गते बसेको बैठकले शहीद सम्झना स्मृति छात्रवृति कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा बोल्दै अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण मोक्तानले उक्त कुरा सार्वजनिक गरेका हुन ।
२८ वर्षअघि टनकपुर सन्धिका विरुद्धमा भएको संयुक्त आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सम्झनाको मृत्यु भएको थियो । उनको मृत्यु भएको २८ वर्षसम्म पनि उनलाई शहीद घोषणा गर्न सरकारले नसकेकोमा पीडा महसुस भएको सम्झनाका परिवारले बताएका छन ।
‘राष्ट्रियता जोगाउन गरिएको आन्दोलनमा सरकारले चलाएको गोलीबाट छोरीको मृत्यु भएको र पटक पटक पहल गर्दा समेत शहीद घोषणा नगरिएकोमा दुःख लागेको छ’ सम्भनाका बुवा शेषराज दाहालले भने । राजनीतिक रुपमा सत्य र तथ्यलाई नबंगाई शहीद घोषणा गर्नका लागि पहल गरिदिन समेत राजनीतिक दलका नेताहरुलाई उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुलीका सहइन्चार्ज उमा कोइरालाले राष्ट्रियताका सवालमा कम्युनिष्ट पार्टी एक हुन नसकेको बताईन । उनले टनकपुर सन्धिका बेला र अहिलेको कम्युनिष्ट राजनीतिमा आएको विचलन राष्ट्रियताको मुद्दामा भएको बताईन । उनले शहिदको सपना साकार पार्न राष्ट्रियता, जनजीविका र समृद्धि, विकासका सवाल अबको मुख्य एजेण्डा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य शान्तीमान कार्कीले कम्युनिष्ट पार्टी संयम, धैर्य र व्यवस्थित हुदै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले लिम्पियाधुरा, लिपुलेख कालापानी नेपालको नक्सामा समेट्नुले तत्कालिन टनकपुर सन्धि र महाकाली सन्धि गलत भएको पुष्टि गरेको बताउँदै राष्ट्रियताका सवालमा एक ठाउँमा आउन सबै नेपालीलाई आह्वान गरे ।
कार्यक्रमा बोल्दै नेकपा केन्द्रीय सदस्य एवम जिल्ला अध्यक्ष प्रदीप कटुवालले सम्पूर्ण शहीदको सपना पुरा गर्न पार्क निर्माण गर्न पहल सुरु भएको बताए । उनले सम्झनालाई शहीद घोषणा गर्न कागजपत्र तयार गर्ने काम भईरहेको बताए ।
कार्यक्रममा बोल्दै अनेरास्ववियुका स्थायी कमिटि सदस्य टिकाजंग थापाले सम्झना दाहाललाई शहीद घोषणा नगरेर सरकारले अपमान गरेको बताए ।
यसैबीच स्व. सम्झना दाहालका बुवा शेषराज दाहालले सम्झना दाहाल स्मृति अक्षय कोषमा १ लाख रुपैंया हाल्ने घोषणा गरेका छन भने नेकपा केन्द्रीय सदस्य शान्तिमान कार्कीले ११ हजार कोषमा सहयोग गर्ने बताएका छन ।




















