सिन्धुली । कमलामाई नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत २६ जना उद्यमीहरुलाई विना व्याजको ऋण लगानी गरेको छ । सोमबार सम्ममा नगरपालिकाले २६ जनालाई ३१ लाख २५ हजार रुपैंया लगानी गरिसकेको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।
नगरपालिकाले २ वर्षमा किस्ता भुक्तानी गर्ने गरि युवा उद्यमीलाई ऋण लगानी गर्न सुरु गरेको हो । पहिलो लगानी लिएको ५ महिनामा उद्यमीहरुले किस्ता फिर्ता गर्न सुरु गर्नुपर्ने हुन्छ । १९ किस्तामा ऋण फिर्ता गरिसक्नु पर्ने गरि नगरपालिकाले लगानी सुरु गरेको छ । पुस १५ गतेबाट ऋण लगानी थालेको नगरपालिकाले अनुगमन गरि व्यवसाय सञ्चालन गरेका, अतिविपन्न तथा महिलाहरुलाई प्राथमिकतामा राखि लगानी सुरु गरेको छ ।
एक करोड लगानी गर्ने गरि योजना बनाएको नगरपालिकाले दुई किस्तामा लगानी गर्न थालेको हो । पहिलो किस्ता लिएका उद्यमीको व्यवसाय अनुगमन पछि दोस्रो किस्ता लगानी गर्न थालेको छ ।
नगरपालिकाका मेयर खड्ग खत्रीको संयोजकत्वमा भएको ऋण सिफारिस समितिले ५ लाखसम्म ऋण लगानी गर्न सक्ने व्यवस्था रहेको छ । हालसम्म नगरपालिकाले १ लाखदेखि ३ लाख ५० हजारसम्म लगानी गरेको नगरपालिकाका सूचना अधिकारी निर्मल लामाले बताए ।
नगरपालिकाले सोमबार ६ जना नयाँ उद्यमीलाई ऋण उपलब्ध गराएको छ । ऋण लगानी गर्न आयोजित कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले व्यवसायीको घरमा जुनसुकै बेला आम्दानी खर्चको हिसाव हेर्न नगरपालिका आई पुग्ने बताए । ‘यो लगानीबाट आम्दानी लिएकै हुनुपर्छ’ उनले भने, ‘नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीले अुनगमन तथा निगरानी गर्छन, काम नभएको पाईएमा लगानी फिर्ता हुने छ ।’
मेयर खत्रीले राम्रो व्यवसाय गर्नेलाई ऋण लगानी समेत बढाउने बताएका छन । कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले विना धितो, विना व्याजको ऋण लगानी गर्ने पहिलो स्थानीय तह भएको दावी समेत गरे । उनले युवाहरुलाई स्वरोजगारमा प्रोत्साहन गर्न नगरपालिकाले यो कार्यक्रम लागु गरेको बताए ।





















