सिन्धुली । कमला सामुदायिक वन कनपा ५ ऐसेलुजंघारले पहिरो रोकथामका लागि वृक्षारोपण गरेको छ । सामुदायिक वन उपभोक्ता समूहले राईजम नामको बाँस रोपेको हो । मंगलबार सामुदायिक वनको २ वटा पहिरो रोकथामका लागि २ सय विरुवा राईजम रोपेको छ ।
उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले गरेका थिए । उद्घाटनमा श्रेष्ठले राइजमको विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका हुन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले विरुवाको संरक्षणसँगै पहिरो तथा भु क्षय रोकथाम समुदायकै सक्रियताले सम्भव रहेको बताए ।
समूहका अध्यक्ष गणेश श्रेष्ठले सामुदायिक वनको सफाई र व्यवस्थापनका लागि बजेटको अभावले हुर्काउनुपर्ने रुखहरु संरक्षणमा समस्या भईरहेको बताए ।
कमला सामुदायिक वनले यो चौमासिकमा ४ सय ६० विरुवा रोप्ने भएको समूहका कोषाध्यक्ष नवराज तामाङले बताए । उनका अनुसार राइजम र घाँसको विरुवा रोपिने उनले बताए । बाग्मति प्रदेश सरकारको २ लाख बजेट र जिल्ला वन डिभिजन कार्यालय सिन्धुलीको समन्वयमा वृक्षारोपण गरिएको उनले जानकारी दिए ।
वृक्षारोपणमा नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष बिमला पाण्डे, सामुदायिक वन उपभोक्ताहरु लगाएतको सहभागिता रहेको थियो ।





















