सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीले कोरोना नियन्त्रण गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत प्रधानमन्त्रीको विशेष ध्यानाकर्षण गरेको हो ।

नेपाली कांग्रेसले कोरोना रोकथाम कोरोना नियन्त्रणका नाममा भएको अरबौं खर्चको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने, राहत वितरण, स्वास्थ्य सुरक्षा सामग्री खरिदका नाममा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु मार्फत व्यापक अनियमितता र भ्रष्टाचारको छानविन गर्नुपर्ने, मापदण्ड अनुसारको क्वारेन्टाईन, आइसोलेसन तथा संक्रमितको उपचार व्यवस्थित गर्नुपर्ने, लकडाउनका बेला मौलाएको कालोबजारी नियन्त्रण गर्नुपर्ने लगाएतका माग राखि ध्यानाकर्षण पत्र बुझाएको हो ।
यस्तै भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकको व्यवस्थित क्वारेन्टाईन, आइसोलेसनमा राख्ने व्यवस्था, उचित खानपान, परिक्षण र घरसम्म पुग्ने व्यवस्थालाई सहज बनाउन, साना मझौला तथा ठूला उद्योगलाई चलाएमान बनाई रोजगारीको ज्ञारेन्टी गरि आम नागरिकको जीवन यापन सहज बनाउन र उचित राहतको व्यवस्था गर्नुपर्ने, सरकारले देशभरका स्वास्थ्य संस्थाहरुलाई चलाएमान बनाई स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने लगाएतका माग गरि ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यालयमा पुगि नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्जल बरालले ध्यानाकर्षण पत्र बुझाएका हुन ।




















