सिन्धुली । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीले सिन्धुली जिल्लाको यस वर्षको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक गरी सार्वजनिक गरेको छ ।
शुक्रबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा बसी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ को अनुमोदन गरिएको हो । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७६ लाई परिमार्जन गरि जारी गरिएको योजनाको परिमार्जनको काम विभिन्न सरोकारवाला निकायको समन्वयमा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले गरेको थियो ।

गत वर्षको कार्ययोजनामा थप गरिएका योजनाको बारेमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठले बैठकमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिकको क्रममा प्रत्यक्ष सहभागी भई सहयोग गर्ने सम्पूर्ण कार्यालय, संघ तथा संस्थाहरु र बैठकमा सहभागी सम्पूर्ण सदस्यहरु तथा आमन्त्रित सबैलाई धन्यवाद समेत दिएका छन ।
बैठकले उक्त कार्ययोजनाको अनुमोदन गरि प्रकाशनको जिम्मा समेत नेपाल रेडक्रस सोसाईटी सिन्धुलीलाई दिएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले वि.सं. २०६८ सालदेखि नै विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा प्राविधिक सहयोग गर्दै आइरहेको छ ।



















