सिन्धुली । सुनकोशी गाउँपालिकाले कोभिड–१९ संक्रमणका कारण खाद्य समस्यामा परेका नागरिकलाई रोजगारी दिने भएको छ । गाउँपालिकाले रोजगारी गुमेका र दैनिक जीवन यापनमा समस्या परेकालाई तीन दिन काममा लगाउने र त्यसबापत खाद्यान्न उपलब्ध गराउने भएको हो ।
केन्द्र सरकारको नीति अनुसार सुनकोशी गाउँपालिकाले काममा सहभागी गराएर राहत उपलब्ध गराउन सार्वजनिक सूचना समेत जारी गरेको छ । गाउँपालिकाद्वारा जारी सूचनामा काममा सहभागी भएर राहत लिन आग्रह गरिएको छ । गाउँपालिकाले कार्यपालिकाको निर्णय बमोजिम ‘काममा सहभागी बनौं, राहत होइन पारिश्रमिक (जिन्सी) लिऔं’ भन्ने नारा समेत तय गरि काममा आउन नागरिकलाई सूचना मार्फत अनुरोध गरेको हो ।
सुनकोशी गाउँपालिमा बसोवास गर्ने अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारी काम गरी दैनिकी चलाउने नागरिक तथा अति विपन्न परिवारका लागि सो सुविधा दिइन लागिएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताइृन । उनका अनुसार पालिकाले लकडाउनका कारण दैनिक जीवन चलाउन समस्यामा परेकाहरुलाई सामाजिक दुरी कायम गरी सुरक्षित तवरवाट रोजगारी उपलब्ध गराउन थालेको बताईन ।
उनीहरुलाई प्रचलित ज्याला दररेट बमोजिम अदक्ष कामदारले प्राप्त गर्ने न्यूनतम तीन दिन वरावरको पारिश्रमिक कायम गरि सो बराबर हुन आउने राहात सामाग्री (जिन्सी) दिईने छ । काम गरेर राहत लिन चाहने वेरोजगार परिवारले सम्बन्धित वडामा निवेदन दिन सक्ने छन ।
नेपाल सरकार तथा अन्तराष्ट्रिय सरकारी सेवाको करार वा स्थायी प्रकृतिको रोजगार र पेन्सनरतले सो कार्यक्रममा सहभागी हुन पाउने छैनन । त्यस्तै, समामाजिक सुरक्षा प्राप्त गर्ने ब्यक्ति, सामाजिक रुपमा प्रतिष्ठित तथा आर्थिक रुपमा सम्पन्न व्यक्ति समेत रोजगारमा सहभागी हुन पाउने छैनन । यद्यपि, असक्त तथा वयोबृद्ध नागरिकको हकमा भने गाउँपालिकाले बिशेष व्यबस्था गर्ने जनाइएको छ । गाउँपालिकाले ती व्यक्तिहरुलाई गाउँपालिकाको विकास निर्माणमा लगाउने भएको छ ।





















