सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले कमलामाई नगरपालिका वडा नं. ५ को कालीमाई मन्दिरको सडक पेटीमा बस्दै आएका ६५ वर्षिय गोपी भुजेललाई परिवारको जिम्मा लगाएको छ । शुक्रबार विहान नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, कमलामाई नगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता टंक विक्रम थापा लगाएतले सडकबाट उठाई परिवारको जिम्मा लगाएको हो ।

उनको जिम्मा बहिनी ज्ञानु भुजेलले लिएकी छिन । ७५ वर्षिय आमा र बुवासँगै बस्ने गरि उनलाई बहिनीले जिम्मा लिएकी हुन । उनको रेखदेख र स्याहारमा कमी नराख्ने प्रतिवद्धता सहित ज्ञानुको जिम्मामा लगाईएको कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले बताईन ।
गोपी भुजेल एक वर्षदेखि खुट्टा टेक्न नसक्ने अवस्थामा छन । बहिनी ज्ञानु भुजेलका अनुसार उनको घुँडामा घाउ भएकाले हिड्न समस्या भएको हो । परिवारले रेखदेख गर्दा गर्दै घर छोडेर हिडेको उनले बताईन । गोपीले भने आफुलाई प्यारालाईसिस भएको बताए । उनले परिवारलाई भने कुनै दोष लगाएका छैनन ।




















