सिन्धुली/अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, हत्या गरेको तथा यौन दुव्र्यवहार गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई खोज्दै प्रहरी टोलीले शुक्रबार सिन्धुलीको आश्रम घेराउ गरेको छ । विहान ४ बजेदेखि कमलामाई नगरपालिका वडा नं. ८ पैरेमा रहेको आश्रम घेराउ गरी खानतलासी गरेको छ ।
आश्रममा बम्जनलाई नभेटेपछि प्रहरीले बम्जनका मुख्य सहयोगी तोप्चन गुरुमार्ग गुरु ज्ञान बहादुर बम्जनलाई सोधपुछका लागि पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको छ । उनीसँग तपस्वी बम्जनका बारेमा सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी एवम् सूचना अधिकारी श्याम बहादुर खत्रीले बताए ।
सिआइवी, प्रदेश नम्बर दुईको दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका ८ पैरेस्थित बम्जनको आश्रममा खानतलासी गरेको हो । तर, बम्जन आश्रममा नभेटिएपछि प्रहरीले उनका सहयोगी ज्ञान बहादुर बम्जनलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।
बम्जनको आश्रममा प्रहरी करिब ६ घण्टा बसेको थियो । अहिले पनि बम्जनको आश्रम निगरानीमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीले ४ बजेदेखि आश्रम घेराउ गरेको थियो । प्रहरीले आश्रम नजिकको जंगलमा लुकेको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ । बम्जन करिब २ वर्षदेखि सिन्धुली आश्रममा बस्दै आएका थिए । बम्जनलाई माघ १० गते जिल्ला अदालत सर्लाहीले पक्राउ पूर्जि जारी गरेपछि प्रहरीले सिन्धुली आश्रममा खानतलासी गरेको हो ।
बम्जनविरुद्ध विभिन्न आरोपमा नुवाकोट, सिन्धुपाल्चोक, बारा, मकवानपुर लगाएतका जिल्लामा मुद्दा दर्ता भएका छन । अनुयायी सञ्चलाल वाइबाको सिन्धुपाल्चोक बाँडेगाउँको आश्रममा हत्या गरि वेपत्ता पारेको आरोपमा सिन्धुपाल्चोक र मकवानपुरमा किटानी जाहेरी दिएका छन । बेपत्ता भएका भनिएका सुरेश आले मगरको खोजीका लागि बारामा, सन्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ) को खोजी गर्न मकवानपुर तथा सिन्धुपाल्चोकमा र चुन्माले चिनिने चिनीमाया तामाङको खोजीका लागि आफन्तले नुवाकोट प्रहरीमा निवेदन दिएका थिए । बेपत्ता भएका भनिएका चारै जना २०६९ सालदेखि २०७२ सालको बीचमा बेपत्ता भएको बताइएको छ ।
सन् २०१० मा बारा जिल्लामै केही स्थानीयलाई हातपात गरेको, सन् २०१२ मा करिब तीन महिनासम्म दुई जना विदेशी महिलालाई बन्धक बनाएको उनी माथि आरोप छ । यस्तै केहि समय अघि रौतहटकी एक १८ वर्षीया युवतीले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले बम्जनविरुद्ध थप आरोपहरू सहित प्रहरीमा उजुरी दिएपछि सिआइवीको विशेष टोली र प्रहरीले अनुसन्धान गर्दै आएको छ ।






















