सिन्धुली । उद्यम विकासमा वातावरणीय पक्षका विषयमा सिन्धुलीका उद्यमी तथा सरोकारवालाबीच छलफल भएको छ । महिला नमुना उद्यम विकास परियोजना अन्तर्गत जिल्ला लघु उद्यमी संघ सिन्धुलीले अभिमुखीकरण गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले स्थानीय उत्पादनलाई प्राथमिकता दिई विदेशी बजारसँग प्रतिस्पर्धा गर्ने गरी क्षमता विकास गर्न जिल्लाका उद्यमीहरुलाई आग्रह गरेका छन । उनले सिप सिकेर उद्यमी बन्न सुझाव दिदैं उत्पादित बस्तुको बजारीकरणको जिम्मा सरकारले लिने बताए ।
उनले लघु उद्यमीले उत्पादन सामानको बजारीकरणमा नगरपालिकाले आगामी बजेटमा सम्बोधन गर्ने समेत बताए ।
कमलामाई नगरपालिका सिन्धुली र युएनडिपीको सहयोगमा आइतबार सिन्धुलीमाढीमा भएको उक्त कार्यक्रममा बोल्दै मेयर खत्रीले सिन्धुलीको ल्याण्डफिल्ड साईड उचित नभएको बताए । उनले कनपा ९ को सिस्नेरी उपयुक्त हुने बताए ।
कार्यक्रममा सहजीकरण गर्दै जुनार सुपरजोनका वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले कृषि उद्यमबाट ठूला उद्यमबाट भन्दा ७० प्रतिशत बढी फोहर आउने र वातावरणमा असर गर्ने बताउँदै यसको व्यवस्थापनका बारेमा उद्यमी नै सचेत हुनुपर्ने बताए ।
उनले कृषिमा प्रयोग गर्ने विषादीले पनि मानवीय स्वास्थ्य र वातावरणमा प्रभाव पार्ने बताउँदै विषादीको प्रयोगमा समेत कृषि उद्यमीहरु सचेत हुनुपर्नेमा जोड दिए । सिन्धुलीमा सडक सञ्जालसँगै कृषि उद्यमको सम्भावना बढेको भए पनि यस्ता उद्यमीमा निरन्तरताको कमी भएको पाईएको बताए ।
कार्यक्रममा कमलामाई नगरपालिकाका वातावरण शाखाका प्रकाश कार्कीले उद्यमीहरुलाई वातावरणीय सुरक्षाका लागि फोहरमैलाको व्यवस्थापनका बारेमा जानकारी गराएका थिए ।





















