सिन्धुली । साहित्यकार अमला अधिकारीको पहिलो उपन्यास आलयको शनिबार सिन्धुलीमाढीमा चर्चा परिचर्चा गरिएको छ । सरोवर सिन्धुलीको आयोजना तथा सफल स्टेशनरीको संयोजनमा आलयको परिचर्चा एवम गजल वाचन कार्यक्रममा उनको उपन्यासमा चर्चा गरिएको हो ।


आलयमा टिप्पणी गर्दै ऐलानी उपन्यासका लेखक विवेक ओझाले द्वन्द्वबाट प्रभावित एकल महिलाको कथामा आधारित र नितान्त गाउँले परिवेशमा लेखिएको उपन्यास भएको बताए । उनले युद्धको असरलाई नजिकबाट नियाल्न आलयले सघाउ पु¥याउने दावी गरे । उनले उपन्यासको भाषा सरल, मिठो,कोमल र भावुक रहेको बताउँदै शहरमा पुगेकालाई गाउँ सम्झाउने उपन्यास बनेको दावी गरे ।
यस्तै कार्यक्रममा आलयमाथि चर्चा गर्दै वा गजल संग्रहका लेखक वाबु त्रिपाठीले पुस्तकले ‘गाउँ विर्सेर शहर पसेकालाई गाउँ सम्झाउने’ कथा र विषयवस्तु बोकेको बताए । उनले गाउँले झर्रा शब्द र गाउँले परिवेशको वर्णन यसको विशेषता रहेको बताए ।
कार्यक्रममा गजलकार वावु त्रिपाठी, अमला अधिकारी, विर्ख वाईवा, कल्याण पहाडी, द्वारिका काफ्ले, सम्झना श्रेष्ठले गजल वाचन गरेका थिए भने सवि बस्नेतले गीत तथा गोपी थापा मगरले कविता वाचन गरेका थिए ।




















