सिन्धुली । घ्याङ्लेख गाउँपालिकामा कार्यरत एकजना इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले शुक्रबार राती पक्राउ गरेको छ । गाउँपालिकामा कार्यरत इन्जीनियर दिलिपकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले घुस सहित पक्राउ गरेको हो ।
गाउँपालिकाको विद्युत विस्तार गर्ने क्रममा उपभोक्तासंग पैसा मागेपछि शाहलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ । शुक्रबार बेलुकी सिन्धुलीमाढीमा शाहले मागेको रकम लिने क्रममा स्टल बजार नजिक विपि राजमार्गबाट शाहलाई रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुुुसन्धान आयोग बर्दिबासका मधुकुमार थापाले वताए ।
शाहले विद्युत विस्तार गर्ने उपभोक्ता समितिसंग २ लाख २६ हजार मागेकोमा उपभोक्ता समितिबाट चेक लिदै गर्दा पक्राउ परेका हुन् । शाहको साथबाट कृषि विकास बैकको ७० हजारको चेक, सिटिजन बैकको १ लाख ६० हजारको चेक र स्रोत नख्ुलेको ३५ हजार रकम सहित पक्राउ गरिएको थापाले बताए ।





















