सिन्धुली । सिन्धुलीगढीमा राष्ट्रिय स्तरको नमुना एकीकरण संग्राहलय निर्माण गर्ने नेपाली सेनाको योजना रक्षा मन्त्रालयले स्वीकृत गरेको छ । कमलामाई नगरपालिका प्रमुख खड्Þग खत्री र प्रधान सेनापति पूर्णचन्द्र थापासंग सैनिक मुख्यालयमा भएको छलफल पछि रक्षामन्त्री इश्वर पोखरेलले उक्त योजना स्वीकृत गरेका हुन ।
मंगलबार रक्षा मंत्री इश्वर पोखरेलको अध्यक्षतामा भएको छलफलमा संघीय सांसद हरिबोल गजुरेल, कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, प्रधान सेनापति पूर्णचन्द्र थापा, पर्यटन तथा नागरिक उड्डयन सचिव, नेपाली सेनाका जनरलहरुलाई बर्दबहादुर गणका गणपति राजीब थापाले परियोजनाको विस्तृत प्रतिवेदनबारेमा जानकारी दिएका थिए ।
रक्षामन्त्री पोखरेलले परियोजना स्वीकृत गर्दै नगर प्रमुख खत्रीलाई महत्वपूर्ण र दुर्लभ अवसरलाई सहि सदुपयोग गरि समयमा परियोजना सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेका थिए । रक्षामन्त्री पोखरेलले उक्त परियोजना सिन्धुलीको मात्र नभइ समग्र रास्ट्रको गौरवको परियोजना भएको बताए । उक्त परियोजना नं. ९ बाहिनी अड्डा सिन्धुली र बर्दबहादुर गणले ९ महिनामा सम्पन्न गर्ने जिम्मा लिएका छन ।
यस्तो बन्ने छ संग्राहलय

प्रधान सेनापति र रक्षामन्त्रालयबाट नक्सांकन, डिजाईन स्वीकृत भएपछि पुरातात्विक शैलीमा संग्राहलय निर्माणको चरणमा प्रवेश गरेको छ । नेपाल सरकार रक्षा मन्त्रालयको बजेत मार्फत निर्माण गरिने संग्राहलय निर्माणका लागि ढुंगा र सिमेन्टको प्रयोग गरिने छ ।
पुरानो र नयाँ मिश्रित मोडलमा संग्राहलय निर्माण हुनेछ । संग्राहलय भित्र वृत चित्र मार्फत गढिको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, तत्कालिन युद्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाले लगाउने गरेको पोशाक प्रर्दशनका लागि काष्टेरिया, सिन्धुलीगढी अवलोकनका लागि आउने आन्तरिक वा बाह्य पर्यटकले उपहार स्वरुप लान सक्ने बस्तुहरु उपलब्ध सोभनियर कक्ष लगायत रहने छन् । संग्राहलयको नक्सांकन, डिजाईन पुरातत्व विज्ञहरु सम्मिलित काठमाण्डौँ स्थित मेगा सिभिल कन्सल्टेन्ट प्राईभेट लिमिटेडले तयार पारेको हो ।
करिब ४९२० बर्ग फिट क्षेत्रफलमा निर्माण हुने एक तल्ले ६ कोठे संग्रहालयको कुल लागत ४ करोड ५० लाख रुँपैया रहने छ । मंसिर पहिलो हप्ताबाट संग्रहालयको निर्माणको काम सुरु हुने र २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।




















