सिन्धुली । नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.डिला संग्रौलाले अहिले सिंहदरबार र बालुवाटारमा बस्नेले बलात्कारी हत्यारा व्यक्तिलाई संरक्षण दिएको आरोप लगाएकी छिन । उनले शुक्रबार सिन्धुलीमाढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै त्यस्तो बताएकी हुन ।
प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले निर्मला पन्तको बलात्कार गरि हत्या गर्ने व्यक्ति खुलेआम सिंहदरबार र बालुवाटारमा हिडडुल गर्ने गरे पनि कारवाहि नगरेको बताईन ।
उनले केपी ओली नेतृत्वको सरकारले भ्रष्ट्राचारलाई संस्थागत रुपमा विकास गरेको समेत आरोप लगाईन । सिंहदरबारको अधिकार गाउँ गाउँमा र समृद्धि र विकास नेपाली कांग्रेसको पनि एजेण्डा भएको भन्दै उनले सरकारले जनताको भावना विपरित काम गरि रहेको र जनता मर्दै गएको बताइन ।
जनता सामान्य विरामी पर्दा सिटामोल खान समेत नपाएको, सडकको अभावमा समयमा उपचार गर्न नपाउदा मृत्युवरण गरेको अवस्थामा पानी जहाज र रेलका सपना देखाएर बसेको उनको आरोप छ ।
लोकतन्त्रमा ‘लुटतन्त्र’ मौलाएको भन्दै सरकार संस्थागत भ्रष्टचारमा लागेको आरोप लगाइन । उनले सरकारले नागरिक र भुमाफियाले अतिक्रमण गरेको जग्गा फर्काउने तर्फ नलागेको बताईन । नकेपाको पार्टी कार्यालय नै सरकारी जग्गामा रहेको बालुवाटार प्रकरणमा पनि आफ्नै नेता कार्यकर्ताले गर्दा समेत कारबाहि गर्न नसकेको बताईन ।
आमाको नामबाट नागरिकता पाउनु पर्ने, ३३ प्रतिशत महिला राज्यका हरेक संरचनामा हुनु पर्ने, महिलाको आर्थिक सवलीकरण र शसक्तीकरण, पैतृक सम्पत्तिमा महिलाको अधिकार लगाएतका सवालमा नेपाली कांग्रेसले आवाज उठाउदै आएको उनले बताईन ।
नेपाली कांग्रेसकी नेतृ तथा सांसद संग्रौला सिन्धुलीमा नेपाल महिला संघको ७२ औं स्थापना दिवसको अवसरमा प्रशिक्षण कार्यक्रममा सहभागि हुन सिन्धुली आई पुगेकी थिईन ।





















