सिन्धुली । जिल्लाको पहिचानसँग जोडिएको नमुना कलाघर बनाउने अभियान थालेका युवाले सिन्धुलीमाढीमा नै स्थायी कलाघर निर्माण गर्ने भएका हुन । कमलामाई नगरपालिकाको वडा नं. ६ को नीजि घरमा भाडा तिरेर राखिएको कलाघर अब स्थायी रुपमा बन्ने भएको कलाघरका संयोजक सुमन थापा मगरले बताए ।

कमलामाई नगरपालिकाले जग्गा उपलब्ध गराएपछि कलाघरले स्थायी रुप पाउने भएको हो । यो सहमति सँगै कलाघरले नक्सा सहित कलाघरको योजना सार्वजनिक गरेको छ । जिल्लाकै नमुना कला संग्रहालयका रुपमा कलाघरलाई स्थापित गर्न आफुहरु लागि परेको कलाघरका संयोजक मगरले बताए ।
कलाघरमा ८ लाख लागतमा कलाहरु निर्माण भईसकेको मगरले बताए । उनका अनुसार कलाघरमा टिकट तथा अन्य सहयोग गरि एकलाख रुपैंया रकम संकलन समेत भएको उनले बताए । स्थायी कलाघर निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको उनले बताए ।
जिल्लाको नक्सामा कलाघर
कलाघरले तयार पारेको स्थायी कलाघरको नक्सा र जिल्लाको नक्सा उस्तै छ । जिल्लाको नक्सांकनको पर्खाल भित्र कलाघरका विभिन्न भाग रहने छन । जिल्लाको वास्तविक क्षेत्र ठाउँ परिवेशलाई नक्साभित्र राखी कलामा सजाउदै कलाघरको निर्माण गर्न थालिएको मगरले बताए ।
जिल्लाको समग्र क्षेत्रलाई पहिचान गराउदै जिल्लाको गौरब र नमुना संग्राहलय बनाउन थालिएको उनले बताए । पहिचान र कला संस्कृती सँगै ऐतिहासिक, धार्मिक स्थल सहितको अध्ययन केन्द्रका रुपमा कलाघरलाई विकास गर्न थालिएको उनले बताए ।
कलाघरमा ऐतिहासिक सिन्धुलीगढी र हरिहरपुरगढी, नेपाल अग्रेज विचको युद्ध झलक नमुना कला रहने छन । जिल्लाका ऐतिहासिक धार्मिक तथा महत्वपुर्ण भौगोलिक स्थानहरुको एक सय भन्दा बढी क्यानभाष चित्र, १५ भन्दा बढी आदबासि जनजातिको जातिय संस्कृती झल्कने कला सहितको छुट्टाछ्ट्टै मौलिक घरहरु, पुराना घरेलु तथा कृषी सामग्रीहरु, लोकबाजा घर बनाइने छ जसमा लोपोन्मुख मौलिक बाजाहरु राखिनेछ ।
पोशाक घर, साहित्यिक घर, सांस्कृतिक, फोटो घर, सूचना घर, खेल घर लगाएतका घरहरु हुने छन । जसमा तिन दर्जन भन्दा बढी जातजातिहरुको मौलिक तथा राष्ट्रीय पोशाकहरु, जिल्लाका स्रस्टाहरुका कृतिहरु, काष्ठकला, मूर्तिकलाहरु, विभिन्न फोटोहरुको ग्यालरी, तथा जिल्लाको परिचय दिने खालको संदेशमूलक सामग्रीहरु समेत हुनेछन ।
कलाघरमा खेलकुदका बारेमा जानकारी दिने खेल घरका साथै मौलिक सांस्कृतिक नृत्य, नाटक, साहित्य कार्यक्रम तथा अतिथि सत्कारका लागि सभा हलको समेत व्यवस्था गरिने भएको छ । यस्तै बृतचित्र घरमा जिल्लाका आर्थिक सामाजिक राजनीतिक तथा विभिन्न कुराहरुलाइ संक्षिप्त रुपमा तयार गरिएको भिडियो सामग्री प्रदर्शनको व्यवस्था गरिने छ ।
एकसय भन्दा बढी काष्ठकला, मुर्तीकला तथा हस्तकलाका सामग्रीहरु हुनेछन् । यस्तै प्रमुख धार्मिक स्थलको स्तम्भ, कृतिम जुनार र लालीगुराँसको बगैचा समेत बनाइनेछ । यस्तै सिन्धुलीलाई चिनाउने गायक स्व. कृष्ण विक्रम थापाको शालिक र उनका कृति समेत राखिने छ ।




















