नेपाल बचाउने युद्ध
गायक स्व.कृष्णविक्रम थापाले २०३६ सालमा रेडियो नेपालमा गाएको ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई, कतिमा राम्रो दरबार, मा¥यो नि मायाले मा¥यो ……’ बोलको गीतले सिन्धुलीगढी दरबार जीर्ण हुँदा समेत गढी दरबारको महत्वलाई कम हुन दिएको छैन । सिन्धुलीको पुरानो सदरमुकाम रहेको सिन्धुलीगढीले सबै नेपालीले गौरब गर्ने इतिहास बोकेको छ ।
सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो ठाउँ काठमाडौंबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको गढी प्राकृतिक रूपमा शान्त र रमणीय छ । सिन्धुली गढीको क्षेत्रफल तीन हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट १९ किलोमिटर उत्तरतर्फ विपी राजमार्ग गई सोलाभञ्याङबाट १ किलोमिटर उकालो चढेपछि सिन्धुलीगढीमा पुगिन्छ । सिन्धुलीगढी नेपाल अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यति मात्र हैन त्यस क्षेत्रमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरूले तत्कालिन नेपाली सेनाको युद्ध रणनीतिको समेत जानकारी दिन्छ । पछिल्लो समयमा त्यस क्षेत्रमा युद्धको झल्को दिने गरि युद्ध तस्वीरहरु पनि राखिएको छ । यसले युद्धकालिन अध्ययनका लागि समेत सहयोग पुगेको छ ।
सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौंं आक्रमण अर्थात विसं १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ । विक्रम सम्वत् १३६७मा सिम्रौनगढका सेनाहरूले (डोयहरू) काठमाडौंँमा ब्यापक लुटपाट गरेर बनेपा हुँदै विदेह (जनकपुर रसितामाढी ) फर्किएका थिए । कमलामाई मन्दिरमा विसं १०३४ मा चढाईएको मुकुटबाट सिन्धुली अन्तर्गतको कमला नदीमा अवस्थित कमलामाई मन्दिरमा आउने धर्मावलम्बीहरू आज भन्दा करिब १०३० वर्ष अगाडि पनि रहेको बुझिएकोले सिन्धुलीमाढी हुदै तराई क्षेत्र होस् वा दोलखा काठमाडौं जाने मुख्य बाटोको रूपमा सिन्धुलीगढी रहेको अनुमान गर्न गाह्रो हुदैन । मुलकोट, खुर्कोट जस्ता कोट लागेका स्थानहरूले पनि प्राचिनकालदेखि नै यो बाटो अस्तित्वमा रहेको प्रमाणित हुन्छ ।
सिन्धुलीगढीको ऐतिहासिक महत्व थाहा पाउन १४ औं शताब्दीसम्म पुग्नुपर्ने हुन्छ । विसं १३६७ मा सिम्रौनगढका (डोय) सेनाहरुले काठमाडौमा लुटपाट गरी सिन्धुलीगढीको बाटो भएर फर्किएको र डोयहरुको आक्रमणको करिब ४० वर्षपछि वंगालका शासक समसुद्दिन इलियासको फौजले काठमाडौमा आक्रमण गरी सिन्धुलीगढीको बाटो फर्किएका थिए । यो अपार क्षतिबाट विछिप्त भएर पुनःआक्रमणको प्रतिरोध एवं वचावटका लागि राजा जयस्थिति मल्लले सिन्धुलीगढीको स्थापना गरेको इतिहास छ ।
काठमाडौका राजा यक्षमल्लले अयोध्या र मगध समेत नेपालमा गाभेपछि विदेशीहरुलाई प्रत्याक्रमण गर्न नदिन विसं १५१५ तिर सिन्धुलीगढीलाई मजबुत बनाएका थिए । वि.संं. १५५६ तिर राजा शिवसिंह मल्लले सिन्धुली विजय गरेपछि सिन्धुलीगढीलाई आफ्नो कब्जामा लिएका थिए । विसं १७४६ मा कान्तिपुरका राजा भुपालेन्द्र मल्लका भारदारहरु र मोरङका वादशाह इन्द्रविधाता सेन (हरइन्द्र सेन) सिन्धुलीगढीमा भेला भई मैत्री सम्बन्ध स्थापना गरेको पाइन्छ यसले पनि मैत्री सम्बन्धमा पनि सिन्धुलीगढी अगाडि रहेको प्रष्ट गर्छ ।
वि.सं १८२४ मा गोर्खाली सेनाले जयप्रकाश मल्लको सहयोगार्थ आएका इष्ट इन्डिया कम्पनी सेनालाई सिन्धुलीगढीमा पराजित गरेको थियो ।
विसं १८७३ मा भएको नेपाल अंग्रेज युद्घको समयमा सिन्धुलीगढीको सामरिक महत्वलाई बुझेर तत्कालिन जनरल भिमसेन थापाले सिन्धुलीगढीमा कानूनी रुपमा एउटा स्थायी सैन्य छाउनीको ब्यवस्था गरेको पाइन्छ । सिन्धुलीगढीलाई दुईवटा गढीमा विभाजन गरिएको छ । जसलाई सानो गढी र ठुलो (पौवा) गढी भनेर चिनिन्छ । युद्धको बेला सानो र ठूलो तोप राखेको हुनाले सानोगढी र ठूलोगढी नाम राखिएको इतिहासका जानकारहरु बताउँछन ।
मकवानपुरका राजा शुभ सेनका छोरा माणिक्य सेनले १७६२ मा सिन्धुलीगढीको निर्माण गराएको भनिन्छ । त्यही गढी वि. सं. १८१९ मा गोर्खाली सेनाले कब्जा गरेका थिए । जितेपछि पृथ्वीनारायण शाहले दुई गढीको बीचमा सेनाहरु बस्न काठ र खरको छानो हालेर घर बनाएका थिए ।
वि.सं. १९७५ सालतिर प्रधानमन्त्री चन्द्रशम्शेरले बडाहाकिम र सैनिक बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, सिमेन्ट र इँटाको गाह्रो भएको दुई तले दरवार बनाउन लगाएका थिए । त्यहि दरबार अहिले रानी दरबारका रुपमा परिचित छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाको समयमा सिन्धुलीगढी मकवानपुर राज्य अन्तर्गत पथ्र्यो । वि.सं. १९७५ सालतिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, सिमेन्ट र इँटाको गारो लगाएको दुई तले दरबार निर्माण गर्न लाएको देखिन्छ । पछि गढीका कर्णेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरेका थिए ।
सिन्धुलीगढी युद्ध अंग्रेजको ब्रेक
वि.सं. १८२४ सालमा इष्ट इण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २४ सय अंग्रेज फौजलाई राजा पृथ्वीनारायण शाह निर्देशित वंशु गुरुङको नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट हराएको र १६ सय अंग्रेजले ज्यान गुमाएको इतिहासमा उल्लेख छ । उक्त लडाईमा ४, ५ सय हतियार र तोपहरु बरामद गरेको भन्ने इतिहास छ । यो लडाइँमा स्थानीय जनताले सिस्नु, अल्लो, अरिङ्गालको गोला, बारुलाको गोला, कमिलाको गोला आदिको प्रयोगले अंग्रेजका फौजमाथि आक्रमण गर्न सघाएका थिए । त्यो युद्धमा करिब ५ सय जनाले ज्यान गुमाएको नेपाली सेनाको इतिहासमा उल्लेख गरिएको छ ।
विश्वमा साम्राज्य फैलाउँदै हिडेका अंग्रेज शासकको युद्धमा पहिलो पटक सिन्धुलीगढी युद्धले नै व्रेक लगाएको थियो । नेपालीहरुले बारुला विच्काएर र ढुङ्गा खसालेर युद्धको अनौठो सीपको प्रयोग गरेका थिए । अरिंगाल र बारुलाले टोकेर र गढीको दक्षिणतिरको भीरबाट लडेर धेरै अंग्रेज सैनिकले ज्यान गुमाएको इतिहासका ज्ञाता सागरकुमार ढकालले आफ्नो पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ मा उल्लेख गरेका छन ।
युद्ध कौशलमा पूर्ण मानिएको अंग्रेज फौजले गोलाबारी र बन्धुकका साथ सिन्धुलीगढीमाथि आक्रमण गरेको थियो । अंग्रेज फौजमाथि वीर गोर्खाली सैनिकले बडो चातुर्य र बहादुरीका साथ लडेर बैरीको फौजलाई तहनहस पारे र हतियार समेत बरामद गरे । नेपालको विकट भौगोलिक क्षेत्रमा पाइने जैविक विविधतासँग परिचत नभएका अंग्रेज फौजलाई गोर्खालीसँगको यो युद्ध ज्यादै महँगो सावित भएको पाइन्छ । यो लडाइँमा गोर्खाली सेनालाई सिस्नु, अल्लो, अरिंगालको गोला, बारुलाको गोला, कमिलाको गोला आदिको प्रयोग गर्न स्थानीय जनताले सघाएको देखिन्छ ।
प्रशासनीक केन्द्र सिन्धुलीगढी
वि.सं. २०१९÷२० सालसम्म सिन्धुलीगढी पूर्व दुई नम्बर क्षेत्रको प्रशासकीय केन्द्रको रुपमा परिचित थियो भने पूर्वी तराईका जिल्लादेखि काठमाडौं जाने सवैले यो पैदल बाटो प्रयोग गर्ने गर्दथे । यो स्थान पूर्वी २ नं. क्षेत्रको कर संकलन गर्ने नाका पनि रहेको पाइन्छ । वि.सं. २०१९ सालसम्म सबै सरकारी कार्यालय यसै ठाउँमा थिए ।
वि.सं.२०२२ सालमा सिन्धुलीगढी दरवारमा सेनाको व्यारेक र प्रहरी चौकी, कारागार मात्र बाँकी रहेर सबै कार्यालयहरु सिन्धुलीमाढीमा सारियो । वि.सं. २०२९ सालमा कारागार पनि सिन्धुलीमाढीमा सारियो । वि.सं. २०५२ सालसम्म प्रहरी चौकी गढी परिसरमा भए पनि तत्कालिन माओवादीको सशस्त्र युद्ध सुरु भएसँगै त्यो पनि सर्यो । गढीका पुरातात्विक शिलालेखहरु चोरी भइसकेका छन् । गढी दरबार पूर्ण रुपमा क्षतविक्षतको अवस्थामा छ ।
इतिहासमै हराएको विजय मिति
सिन्धुलीगढी विजयको मितिमा अहिले पनि इतिहासकारहरुको मत बाझिएको छ । कसैले पनि कुन दिन सिन्धुलीगढी विजय भएको थियो एकीन मिति दिन सकेका छैनन । इतिहासको यो मिति खोज्न निकै प्रयास भएका छन । नेपाल रहनुको इतिहासको उत्सव मनाउनुपर्ने त्यो मिति कहिले थियो खोजीकै विषय छ ।
मिति नै फेला नपरेपछि इतिहासकार सागर कुमार ढकालले आफ्नो पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ मा नै १८२४ आश्विन महिनामा युद्ध भएको र त्यो युद्ध ३ दिन चलेको उल्लेख गरेका छन । उनले मितिमा हालसम्म आँकलन मात्र भएको तर एकीन नभएको उल्लेख गरेका छन ।
नेपालीले सिन्धुलीगढीको महत्व र भावना नबुझी, पुर्खाको इतिहास थाहा नपाई नेपालको माया नै नहुने हुन्छ । केहि बर्षअघि इतिहासकार दिनेशराज पन्तले प्रकाशमा ल्याएको टेकबहादुर कामीको संग्रह र किनलकको डायरीको तथ्यलाई आधार मान्ने हो भने असोज २४ वा कार्तिकको पहिलो हप्ताबीचको समय अंग्रेजलाई हराएको मिति मान्न सकिन्छ । यहि मितिलाई आधार मानेर नेपाल पत्रकार महासंघ सिन्धुलीले गौरवमय दिन कार्तिक २४ लाई तोकेर विजय उत्सव मनाउन सुरु ग¥यो । सबै नेपाली र जिल्लाले पनि वेवास्ता गरेको गढीको महिमा पनि नेपाल पत्रकार महासंघले कार्तिक २४ मा विजय दिवस मनाउन थालेपछि सुरु भएको हो ।
पत्रकार महासंघको ऐतिहासिक काम
सिन्धुलीगढी र यसको ऐतिहासिक महत्व लोप हुदै जान थालेपछि नेपाल पत्रकार महासंघ सिन्धुलीले गढीको इतिहास सम्झाउन ऐतिहासिक काम ग¥यो । २०६७ साल कार्तिक २४ गते महासंघको आयोजनामा सिन्धुलीगढी विजय उत्सवको आयोजना गरि नेपाली झण्डोत्तलन गर्न सुरु गरियो । यसपछि सिन्धुलीगढीले केहि चर्चा कमाउन सुरु ग¥यो । जसका कारण गढीको इतिहासको खोजी हुन थाल्यो ।

ऐतिहासिक र धार्मिक पर्यटनको सम्भावना
स्थानीय तहको निर्वाचनमा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीको मुख्य चुनावी एजेण्डा सिन्धुलीगढी संरक्षण रह्यो । जुन एजेण्डा अनुसार नगरपालिकाले गढी संरक्षणको काम अगाडि बढाएको छ ।
सिन्धुलीगढी संरक्षण समितिले सिन्धुलीगढी संरक्षणमा केहि ऐतिहासिक भग्नावशेष बनाउने तथा पिकनिक स्पोर्ट निर्माण, खानेपानी व्यवस्थापन, भ¥याङ निर्माण, सिद्धवावा मन्दिरको पुनःनिर्माण, शौचालय निर्माण लगाएतका काम गरेको थियो ।
पछिल्लो दुई वर्षमा नगरपालिकाले सिन्धुलीगढी विकासमा गुरुयोजना निर्माण, सुरक्षा प्रवन्धका लागि नगर प्रहरीको व्यवस्था, सोलाभञ्ज्याङदेखि सिन्धुलीगढीसम्मको सडक कालोपत्रे लगाएतका काम सकेको छ । सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७६ असारसम्म उक्त शालिक प्रतिस्थापन भई अनावरण हुने कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताए । यस्तै स्तम्भ निर्माण, रानीदरबारको निर्माणका लागि आवश्यक गुरुयोजना निर्माण लगाएतका काम भएको उनले बताए । सिन्धुलीगढीका जंगलहरुमा युद्धको झल्को दिने खालका होर्डिङबोर्ड तथा तस्वीरहरु राखिएका छन भने सिन्धुलीगढीको इतिहास झल्काउने खालका होर्डिङबोर्डहरु राखिएको छ ।
जब विपी राजमार्ग बन्यो त्यसपछि सिन्धुलीगढी सबैका लागि सहज गन्तव्य बनेको छ । जापान सरकारले बनाएको उक्त सडकको नागवेलीसँगै पर्ने उक्त स्थल मध्य तथा पूर्वी तराई, मध्य÷पूवी पहाड र काठमान्डौसँग जोडिएपछि पर्यटकहरु बढ्न थालेका छन । आन्तरिक तथा वाह्य पर्यटन पर्वद्धनका लागि जिल्लाकै नमुना हुने यो स्थानमा आउने पर्यटकलाई यसको महत्व झल्काउने सामग्री उपलब्ध गराई टिकट सिस्टमका लान सक्दा सिन्धुलीगढी उपयुक्त पर्यटकीय गन्तव्य बन्छ नै । यस्तै नेपाल सरकारले एकसय १ नेपालका पर्यटकीय गन्तव्यमा सिन्धुलीगढीलाई पार्नुले सिन्धुलीगढीमा पर्यटकीय सम्भावनाको ढोका खुलाएको छ । यो सँगै महाभारतकै रेन्जमा उत्पादन हुने जुनार र यसको पकेट क्षेत्रसँग गढीलाई विकास गर्न सकेमा अझ प्रभावकारी हुने देखिन्छ । गोरखालीकी इष्ट देवी भगवति मनकामनाको बहिनीका रुपमा भद्रकाली देवीलाई लिने गरिन्छ । यस मन्दिरको स्थापना शाह वंशीय राजा पृथ्वीनारायण शाह आफैले गरेको पाइन्छ । उनले युद्धमा विजय प्राप्त होस भनि भद्रकाली मन्दिरको स्थापना गरेको इतिहास छ ।
भद्रकालीको दर्शन गरेमा मनले इच्छा गरेको कुरा पुरा हुने विश्वास छ । यस मन्दिरमा नेपाली सेनाका टुकडीले विभिन्न समयमा विजया दशमी लगाएत विभिन्न पर्वहरूमा सलामी दिने गरेको पाइन्छ । अतः सिन्धुलीगढीसँग भद्रकाली मन्दिरको अटुट सम्बन्ध देखिन्छ । कमलामाई नपा २ को भद्रकाली मन्दिर र सिन्धुलीगढी क्षेत्रमा रहेको सिद्धवावा (सिद्धगढी÷सिद्धस्थान) मन्दिरका कारण पनि यो क्षेत्रमा धार्मिक पर्यटन समेत बढाउन सकिने अवस्था छ । अहिले भद्रकाली मन्दिरको नेपाली सेनाको वर्द बहादुर गणले पुनःनिर्माण गरिरहेको छ भने सिद्धवावा मन्दिरको पुनःनिर्माण भईसकेको छ ।
सिन्धुलीगढीबाट ३१ किलोमिटरमा विमान स्थल बन्न डिपीआर सम्पन्न भएको छ । जिल्लामा तीन ठूला राजमार्गहरु विपी राजमार्ग, हेटौडा चतरा रामार्ग र मध्यपहाडी राजमार्ग निर्माण पनि सिन्धुलीगढीमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने देखिन्छ ।
पर्यटकलाई लक्षित गरि होमस्टे
सिन्धुलीगढी र भद्रकालीलाई जोड्ने र पर्यटनलाई बढावा दिने उद्देश्यले कमलामाई नगरपालिकाले होमस्टे सञ्चालन गर्न सुरु गरेको छ । भद्रकाली मन्दिरको छेउँमै रहेको ढुंग्रेभञ्याङमा होमस्टे सञ्चालनका लागि कमलामाई नगरपालिकाले तालिम समेत दिईसकेको छ ।

अब टिकट सिस्टम सुरु गरिने
कमलामाई नगरपालिका सिन्धुलीले अब सिन्धुलीगढी प्रवेशमा शुल्क लाउने भएको छ । सिन्धुलीगढीलाई संरक्षण गरि पर्यटन प्रवद्र्धनमा काम गरेको नगरपालिकाले प्रवेश शुल्क लगाउने गरि शुल्क समेत निर्धारण गरेको छ । सिन्धुलीगढीको प्रवद्र्धन र पर्यटन विकासका रुपमा गढीलाई लिएको नगरपालिकाले प्रतिव्यक्ति २० रुपैंया प्रवेश शुल्क लिने र सवारी साधनका लागि १०० रुपैंया शुल्क लिने गरि निर्धारण गरेको छ । साथै सिन्धुलीगढी क्षेत्रको संरक्षण र सुरक्षाका लागि ५ जना नगरप्रहरीको समेत व्यवस्था गरेको छ ।






















