सिन्धुली । ‘फलामका सिक्रीले बाँधिएका मान्छेहरु कतै फुत्किन संघर्ष गरेका जस्ता हाउभाउ गर्छन’ तर सजिलै सक्दैनन । एकैछिनमा वातावरण डरलाग्दो हुन्छ । एक युवक भुँइमा मृत शरीर लिएर लमतन्न देखिन्छन । उनको अगाडी पवित्रा माता उनलाई उठाउन प्रयत्न गरेकी हुन्छिन र भक्तहरु ‘पवित्रा माताको जय’ ‘पवित्रा माताको जय’ भन्दै माताको हौसला बढाउन लाग्छन् । एकैछिनमा एक किशोरी प्रश्न गर्छिन ‘पख्नोस, तपाइँहरुलाई लाग्ला यो के भैरहेको छ ?’ भक्तहरु लगत्तै बोल्छन, प्रकृतिको नियम परिवर्तन गर्न कसैलाई छुट छैन ।

घरको चुलो चौको, सरसफाई र सामाजिक नियम तोडेर बाहिर निस्कने महिलालाई समाजले हेर्ने दृष्टिकोणलाई नाटकमा देखाईएको छ । यहि सामाजिक पारिवारीक बन्धनका कारण महिलाले आफ्ना सपना पुरा गर्न नपाएको र पल पलमा मर्नुपरेको सन्दर्भ नाटकमा चित्रण गरिएको छ । सामाजिक बन्धनलाई तोडेर महिलालाई बाहिर निस्कन दिनु परिवारका लागि पनि मर्नु जत्तिकै नाटकमा देखाईएको छ । नाटकमा सरस्वतिको भूमिकाले यो पुस्ताका कामकाजी महिलाले भोगेका समस्यालाई चित्रण गरेको छ ।
यस नाटकले महिनावारीको बेलाको छुवाछुतलाई पनि यसरी नै व्याख्या गरेको छ । महिनावारी भएकी देवीलाई उनका भक्तहरुले देवी महिनावारी भईन मन्दिरमा बस्न अनुमति छैन भन्छन । कोहि देवी अछुत हुदिनन भन्दै गर्दा फेरी एक महिला पात्रले प्रश्न गर्छिन, ‘अनि मान्छे नी ?’
‘हामी महिलालाई देवी र अछुतको रुपमा समाजले जसरी भूमिका बनाएको छ त्यसरी नै चित्रण गरेका हौं’ नाटकका निर्देशक एवम लेखक कृष्ण खड्काले बताए । महिलाको प्रतिमूर्ति देवी मानिएका महिलालाई पनि महिनावारीका बेला अछुत बनाईन्छ तर महिला अछुत हैनन, महिनावारी प्राकृतिक नियम हो भन्ने देखाउन नाटकमा खोजिएको छ । सिन्धुलीको सभागृहमा पहिलो पटक रंगमञ्चको सुरुवात गर्दै जिल्लाका कलाकारहरुले अभिनय गरेको नाटक निःधार प्रदर्शन भईरहेको छ ।
नाटक विशेष गरि महिला अधिकार र सामाजिक बन्धनको चिरफार गर्ने गरि तयार गरिएको छ । जसको दैनिक ५ सो प्रदर्शन भईरहेको छ । विहिबार मात्र एक हजार जनाले नाटकको अवलोकन गरेर रेकर्ड तोडेको छ । सिन्धुली कलाघर निर्माणार्थ प्रदर्शन गरिएको उक्त नाटक शुक्रबारसम्म करिब १५ सय जनाले अवलोकन गरिसकेको कलाघरका संयोजक सुमन थापा मगरले बताए । नाटकमा कलाकारहरु पनि कलाघर निर्माण गर्ने कलाकारहरु नै छन । कलाघरले २५ सय जनाले नाटकको अवलोकन गर्ने अनुमान गरेको छ । दर्शकहरुको भिड बढेपछि नाटकको समय पनि २ दिन थप गरिएको छ । पकेट थिएटर र सिन्धुली कलाघरको संयुक्त प्रस्तुति रहेको नाटक विशेष गरि नीजि विद्यालयहरुले नाटकलाई प्राथमिकता दिएर विद्यार्थीहरुलाई नाटक हेर्न ल्याएको थापाले बताए ।
प्रस्तुतीमा सहयोग सुजिता खड्का



















