
सिन्धुली जिल्लालाई २०७४ असार २४ गते पूर्ण साक्षर जिल्ला घोषणा गरियो । जसका लागि जिल्लामा लाखौं रकम लगानी भएको छ । जिल्लालाई ३६ औँ साक्षर जिल्ला घोषणा गरेको २ वर्ष पछि दुधौली नगरपालिकाका २ वटा मुसहर बस्तीमा पुग्ने अवसर मिल्यो ।
त्यहाँ पुग्दा भने सिन्धुली जिल्ला पूर्ण साक्षर जिल्ला हुन नसकेको अनुभूति भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका सवै नागरिक साक्षर भएको भन्दै घोषणा गरिएको साक्षर जिल्लाका वस्तीहरुमा भने त्यो उमेर समूहका नागरिकले हस्ताक्षर नै गर्न नजान्ने गरेको पाईयो । झण्डै ४० जना उपस्थित रहेको दुधौली वडा नं. ७ को पोखरेमा एक जना महिलाले मात्र आफ्नो हस्ताक्षर गर्न सकिन ।
मनमा खुल्दुली चल्यो । जान्न मन लाग्यो यहाँ साक्षरताको अवस्था के हो त ? मैले स्थानीय बासिन्दाहरुलाई सोधें । उनीहरुले मलाई जानकारी दिए अनुसार १५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरु लगभग सबै निरक्षर छन । उक्त गाउँमा १ जना विवाह गरेर आएकी बुहारीले मात्र एईई गरेकी छिन । बाँकी कसैले पनि पढेलेखेका छैनन । सानासाना बालबालिकाहरु पनि सबै विद्यालय जाँदैनन । विद्यालय जानेहरु पनि चार पाँच कक्षामै पढाई छोड्छन र मजदुरी गर्न जान्छन । २९ घरपरिवारमा साक्षर नागरिक पाउनै गाह्रो छ ।
यस्तै दुधौली नगरपालिकाको १० नंं. वडाको थलीको अवस्था त झन त्यो भन्दा पनि नाजुक पाईयो । २५ घरपरीवार रहेको उक्त बस्तीमा एकजना छात्रले यसपाली एसईई दिएका छन बाँकी निरक्षर नै छन । एकदुई जना सामान्य लेखपढ गर्न जान्ने भए पनि अधिकांश शिक्षाको पहुँच बाहिर छन ।
यी गाउँका नजिकमा सरकारी विद्यालय पनि छन । दलित गैरदलितको विषयलाई लिएर विद्यालयमा विभेद पनि गरिएको छैन । दैनिक खाजाका लागि सरकारले दिएको १५ रुपैंया पनि पाउँछन । तर यहाँका बालबालिकालाई विद्यालय पठाउने चेतना अविभावकमा छैन । सुकुम्बासी, साना साना झुपडिमा बसेका उनीहरुको दिनभरको कमाईले विहान बेलुका छाक टार्न गाह्रो छ । अर्काको खेतमा बनिवुतो गर्नु, मजदुरी गर्न जानु, हरुवाचरुवा बस्नु र केहि २, ४ जना बैदेशिक रोजगारीमा जानु हातमुख जोड्ने आधार हुन । परिवारका अविभावकले जे गर्छन, बालबालिकाले पनि त्यहि सिको गर्ने हुन । जसका कारण उनीहरुले पढ्ने भन्ने विषय नै जान्न पाएका छैनन । चेतना, सिप जस्ता कुराहरुबाट उनीहरु टाढा छन ।
वि सं. २०६७ को सर्वेक्षण तथ्याङ्क अनुसार जिल्लामा ४७ हजार ८ सय ८६ महिला र २५ हजार ७ सय २९ पुरुष गरी कुल ७३ हजार ६ सय १५ जना निरक्षर रहेकोमा ९९ दशमलव २१ प्रतिशत महिला र ९८ दशमलव ९७ प्रतिशत पुरुषलाई साक्षर बनाइ सकिएको तथ्यांक सहित जिल्लालाई साक्षर घोषणा गरिएको थियो ।
सरकारी तथा गैर सरकारी क्षेत्रको समन्वयमा सञ्चालन गरिएको साक्षरता अभियान अन्तर्गत जिल्लामा ९९ दशमलव १३ प्रतिशत साक्षर रहेको दावी गरिएको थियो । सिन्धुलीलाई साक्षरता जिल्ला बनाउनका लागि ४२ वटा सामुदायिक सिकाई केन्द्रले जिल्लाभर साक्षरता कक्षा सञ्चालन गरेका थिए तर ती साक्षरता कक्षा कहाँ चलाईयो कसका लागी चलाईयो दुधौलीको थली र पोखरेका मुसहर बस्तीलाई जानकारी नै छैन ।
यतिबेला देशभर भर्ना अभियान चलाईएको छ । स्थानीय सरकार, शिक्षक र विद्यालय व्यवस्थापन समिति, अविभावकले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा यस्ता वस्तीहरुका निम्न वर्गका बालबालिकाहरु पढाईबाट वञ्चित भएका छन ।
तथ्यांकका लागि तथ्यांक लिएर चलाईएका साक्षरता कक्षा कति प्रभावकारी थिए ? लक्षित समूदायमा ती कक्षा पुगेका थिए की थिएनन भनेर कहिल्लै पनि अनुगमन भएको छैन । मैले भेटेका जस्ता यस्ता वस्तिहरु जिल्लामा कति छुटेका छन ? त्यसको लेखाजोखा र फलोअप समेत छैन । अनि कसरी भयो साक्षरता घोषणा ? यो जिल्लाका सरकारी, गैरसरकारी निकायसँगै राजनीतिक दलका लागि पनि प्रश्न बनेको छ । यी वस्तीमा पुगेर फर्केपछि प्राविधिक रुपमा पूर्ण साक्षर जिल्ला घोषणा भए पनि निरन्तर रुपमा यहाँ साक्षरता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता छ । ती वस्तीका नागरिकहरुको रुचि अनुसारको सचेतना तथा क्षमतावृद्धिका कार्यक्रम चलाउन आवश्यक छ र उनीहरुलाई शिक्षासँगै आर्थिक, सामाजिक राजनीतिक रुपमा सक्षम बनाउन जरुरी छ ।




















