सिन्धुली । कमलामाई नगरपालिकाको न्यायीक समितिले न्यायीक निरुपणलाई प्रभावकारी बनाउन १४ वटै वडामा न्यायीक कार्य सम्पादन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालेको छ । बैशाख १५ गतेबाट अभिमुखीकरण कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा नं. १ देखि अभिमुखीकरण सुरु गरिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ । नगरपालिकाको वडा नं. ५ मा सोमबार कार्यक्रम गरिएको छ । यस्तै मंगलबार कनपा ६ मा कार्यक्रमको आयोजना गरिएको छ ।
समितिले वडाका जनप्रतिनिधि, सामाजिक मनोविमर्शकर्ता, मेलमिलापकर्ताहरुलाई तालिम दिएको हो । देवानी प्रकृतिका मुद्दाहरु मेलमिलापका माध्यमबाट छिटो छरितो रुपमा समाधान गर्न, मुद्दाका प्रक्रियामा स्पष्ट पार्न र समन्वयलाई प्रभावकारी बनाउन अभिमुखीकरण गरिएको कमलामाई नगरपालिकाका उपमेयर एवम न्यायीक समितिका संयोजक मञ्जु देवकोटाले बताए । उनका अनुसार समितिले प्रत्येक वडामा ३० जनालाई अभिमुखीकरण गर्दै छ ।
न्यायिक समितिले पाएका कानुनी अधिकारलाई व्यवस्थित बनाउनका लागि पनि अभिमुखीकरण उपयोगी बन्ने उनले बताईन । उनले वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले वडाका न्यायीक समितिमा आउने समस्यालाई न्यायीक समितिसँगको सहजीकरण र समन्वयमा सम्पादन गर्न सहयोग गर्न आग्रह समेत गरेकी छिन । अभिमुखीकरण कार्यक्रमको सहजीकरण नगरपालिकाका वरिष्ठ अधिकृत सागरकुमार ढकाल र कानुनी सल्लाहकार टंक विक्रम थापाले गरेका छन ।





















