सिन्धुली/सिन्धुली रामेछाप र दोलखा जिल्लामा युरिया मलको अभाव भएको छ । कृषि सामग्री कम्पनि लिमिटेड र साल्ट ट्रेडिङ कम्पनिका डिपोहरुमा मलको अभाव भएको मल विक्रेता कम्पनीहरुले जनाएका छन ।
किसानले मकैबालीमा मल हाल्ने बेला भए पनि जिल्लामा युरिया मल नहुदाँ कृषकहरु समस्यामा परेका छन । यी जिल्लामा अझै एक महिना युरिया मलको अभाव हुने कृषि सामग्री कम्पनि लिमिटेड सिन्धुलीका प्रमुख पुर्णराज कार्कीले बताए । क्षेत्रीय डिपोमा नै युरिया मल नभएकाले मलको अभाव भएको उनले बताए ।
सिन्धुली जिल्ला लगायत १३ वटा जिल्लामा रासायनिक मल दिदै आएको कम्पनिको विरगञ्ज स्थित क्षेत्रीय डिपोमा नै मल नभएका जिल्लामा मल अभाव भएको उनले बताए । कम्पनिको सिन्धुली उपशाखाबाटै वितरण हुने सिन्धुली, रामेछाप र दोलखा जिल्लामा नै युरिया मल अभाव भएको प्रमुख कार्कीले जानकारी दिए ।
यो अभावको अवस्था जेठ ४/५ गतेसम्म कायम रहने पनि उनले बताए । यी तीन जिल्लामा बार्षिक दुई हजार मेट्रिकटन युरिया खपत हुदै आएको छ । जसमध्ये सबैभन्दा धेरै सिन्धुलीमा १२ सय सय मेट्रिकटन युरिया खपत हुने गरेको कम्पनीले जनाएको छ ।
चालु आर्थिक वर्षमा यी तीन जिल्लामा १ हजार १ सय ७८ मेट्रिकटन युरिया खपत भई सकेको पनि उनले जानकारी दिए । सिन्धुली जिल्ला यस वर्ष ६९३ दशमलब २५० मेट्रिकटन, रामेछापमा ३२८ दशमलब ४५० मेट्रिकटन र दोलखामा १५७ दशमलब ४०० मेट्रिकटन युरिया खपत भएको कार्कीले बताए ।
तराईको जिल्लाहरुमा भन्दा रामेछाप, सिन्धुली र दोलखामा रासायनीक मल कम खपत हुने गरेको प्रमुख कार्कीले बताए । यस वर्ष यस उपशाखाबाट गत वर्षको यसै समयको भन्दा बढी मात्रामा युरिया मल खपत भएको पनि उनले बताए । गत वर्ष यसै सिजनमा युरिया, ६८६ दशमलब ९५० मेट्रिकटन, डिएपी २७१ द्यशमलव ६०० मेट्रिकटन र पोटास ११ दशमलब ५० मेट्रिकटन खपत भएको उनले बताए । करिव ३ वर्षको अवधीमा पहिलो पटक युरिया मलको अभाव भएको उनले बताए । अहिले जिल्लामा बेलैदेखि पानी परेकाले मलको छिटो र धेरै माग भएको पनि उनले बताए । कम्पनीले सहकारी मार्फत मल वितरण गर्दै आएको छ ।
यस्तै जिल्लामा साल्टट्रेडिङ कम्पनिको मल विक्रि वितरण गर्दै आएका कृपा एग्रोट्रेडसका संचालन सुवोध अधिकारी पनि अहिले कम्पनिले मल उपलव्ध नगराएकाले जिल्लामा मलको अभाव रहेको उनले बताए ।





















