सिन्धुली । किसानहरुको जमिनको माटो परीक्षणका लागि स्थापना भएको प्रयोगशाला तीन वर्षदेखि सञ्चालन हुन सकेको छैन । सिन्धुलीमाढीमा प्रयोगशाला निर्माण गरिए पनि प्रयोगमा नआउँदा किसानले माटो परिक्षण गर्न पाएका छैनन ।
दक्ष जनशक्ति (प्राविधिक) र माटो परिक्षण गर्न चाहिने केमिकलको अभाव हुदा प्रयोगशाला सञ्चालन हुन नसकेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत विजय मण्डलले बताए । उनका अनुसार कार्यालयमा ‘प्राविधिकको दरबन्दी पनि छैन, आवश्यक केमिकल पनि छैनन ।’
दरबन्दी नहुँदा प्राविधिकको व्यवस्था गर्न नसकिएको र बजेट नहुँदा केमिकल खरिद गर्न नसकिएको उनले बताए । उनी भन्छन ‘कृषक माटो लिएर आउँछन तर, प्रविधि छ, प्राविधिक छैनन् भन्दै कृषकलाई फर्काउन बाध्य छौँ ।’ तीन वर्षदेखि प्रयोगशाला बन्द रहदा कतिपय उपकरण काम नलाग्ने भएका छन ।
तीन वर्षअघि माटो निर्देशनालयको सहयोगमा तत्कालीन जिल्ला कृषि विकास कार्यालयले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको थियो । बाली संरक्षण अधिकृत देवेन्द्र साहुलाई १५ दिने तालिम दिएर प्रयोगशाला सञ्चालन गरिएको भए पनि उनको केहि दिनमै सरुवा भए पछि प्रयोगशाला बन्द भएको मण्डलले बताए ।




















