सिन्धुली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई जुनार सुपरजोन सिन्धुलीले जिल्लाका जुनार बगैंचामा जुनारको फल कुहाउने औंसा पार्ने झिंगा (व्याक्टोसेरा मिन्याक्स) व्यवस्थापनका लागि विषादी छिट्न सुरु गरेको छ । शनिबारदेखि सुनकोशी गाउँपालिका वडा नं. ७ को मझुवाबाट विषादी छिट्न सुरु गरिएको जुनार सुपर जोनका सचिव सुस्पा भुजेलले बताईन ।
क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम अन्तर्गत जुनार सुपरजोन क्षेत्रका ८ स्थानका किसानहरुसँगको ५०÷५० प्रतिशत साझेदारी लगानीमा प्रोटिन वेट औषधि खरिद गरि छिट्न थालिएको उनले जानकारी दिएकी छिन । उनका अनुसार मझुवामा तीनजना सहजकर्ता खटाइएको छ ।
जसका लागि ८ लाख १७ हजार ७ सय ७८ रुपैंया रकमकिसानले संकलन गरेका थिए । विषादी छिट्ने काम जिल्लाका जुनार उत्पादन हुने क्षेत्रको १ हजार हेक्टर जमिनमा रहेका बगैंचाको ४ हजार ३ सय ६१ बोट गरिने सुपरजोनका वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले बताए ।
सुनकोशी गाउँपालिका वडा नं. ७ को मझुवा, कमलामाई नगरपालिका वडा नं. ३ को जलकन्या, गोलञ्जोर गाउँपालिका वडा नं. ५ को खनियाँखर्क, चिसापानी र नयाँखर्क, गोलञ्जोर गाउँपालिका वडा नं. ४ को तिनकन्या, गोलञ्जोर २ को वितिजोर, गोलञ्जोर १ को डुँडभञ्ज्याङ र तिनपाटन गाउँपालिका वडा नं. १ को तोश्रामखोलामा किरा नियन्त्रण गर्नका लागि विषादी छिट्न थालिएको अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार जसका लागि ८ सय १७ दशमलब ७५ लिटर औषधि लाग्ने छ । उनले चैत बैशाखमा झिंगाको प्यूपा वयस्क भएर बाहिर आउने र जुनारको फुल्ने बेलामा यसको व्यवस्थापन गर्नु पर्ने भएकाले विषादी छिट्न लागिएको उनले बताए । जसका लागि १८ जना सहजकर्ता खटाइएको छ । जुनार सुपरजोन क्षेत्रका उल्लेखित स्थानमा १३ हजार ८३ वटा बोटमा जुनार फलेको पनि अधिकारीले बताए । जसमा ३० देखि ४० प्रतिशत जुनारलाई किराले प्रभावित पार्ने देखिएपछि विषादी छिट्न थालिएको हो ।





















