
विषय प्रवेश
आदिम कालमा बाँदरको एक प्रजातिबाट विकसित हुदै आजको २१ औ शताब्दिको आधुनिक समाजमा रमाइरहेको मानव जाती संसारको सबैभन्दा विवेकशिल प्राणी ठहरिएको छ । मानिसका समस्या, दैनिक जीवनका क्रियाकलाप र आवश्यकता अनुसार समाज सरलबाट जटिल तर्फ उन्मुख भइरहेको छ । मानव जीवनसँग विभिन्न वस्तु, सेवा, कार्यहरुको सम्बन्ध रहेको हुन्छ । यस्ता धेरै चिजहरुमध्ये स्वास्थ्य एक प्रमुख हो । मानव स्वास्थ्य अति महत्वपूर्ण कुरा हो किनकी मानिसले गर्ने हरेक कार्यहरुसँग यसको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । मानिसको स्वास्थ्य राम्रो भएमा उसले देखाउने व्यवहार कामको प्रभावकारिता र गुणस्तरीयतामा अब्बलपन आउँछ । यसैलाई मध्यनजर गरी नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक, धारा ३० मा स्वच्छ वातावरणको हक र धारा ३६ मा खाद्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । मानिसले स्वच्छ वातावरणमा स्वास्थकर खाना सहित जीवनयापन गर्न पाएमा समाज सकारात्मक दिशातिर अघि बढ्ने कुरामा दुईमत छैन ।
मानव स्वास्थ्यसँग सम्बन्धित धेरै विषयवस्तु वा सामाग्रीहरु छन्, जुन हामी दैनिक प्रयोग गरीरहेका हुन्छौ । यसमध्ये यस कार्यपत्रमा मासुजन्य वस्तु र उपभोक्ता हकसम्बन्धी विषयहरुलाई मात्र समेटिएको छ ।
मानिसले दिनदिनै उपभोग गर्ने धेरै वस्तुमध्ये मासु पनि एक प्रमुख खानेकुरा हो । मासु स्वस्थ, सफा र खानयोग्य हुनपर्दछ । मासुका लागि प्रयोग गरिने चौपाय एवम् पक्षी स्वस्थ हुनुपर्दछ, तिनीहरुलाई बध गरिने पशु बधशाला आधुनिक र स्वास्थ्य मैत्री हुनुपर्दछ, मासुपसल सफा, स्वच्छ र जनस्वाथ्य मैत्री हुनपर्दछ । यिनै कुराहरुलाई ख्याल गरेर नेपाल सरकारबाट सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्यपदार्थमा मिसावट रोक्न र मासुमा हुने स्वस्थता तथा मासुको स्वभाविक गुण बिग्रन नदिई उपयुक्त स्तर कायम राख्न भन्दै पशुबधशाला र मासु जाँच ऐन, २०५५ तथा पशु बधशाला र मासु जाँच नियामावली, २०५७ तयार गरी जारी गरिएको छ ।
मासु बजार व्यवस्थापन सम्बन्धि कानुनी व्यवस्था
पशुबधशाला र मासु जाँच ऐन, २०५५ तथा पशु बधशाला र मासु जाँच नियामावली, २०५७ मा उल्लेख भएका मासुजन्य वस्तुहरुको उपभोगका सन्दर्भमा उपनाउनु पर्ने व्यवस्थालाई यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठानिएको छ ः
१. कसैले पनि इजाजत नलिई पशु बधशाला स्थापना गर्न र मासु विक्री गर्न पाइदैन ।
२. नेपाल सरकारले पशु र मासु जाँच गर्नका लागि मासु निरीक्षकको प्रबन्ध गर्ने व्यवस्था छ ।
३. यसैगरी नेपाल सरकारले पशु बधशाला व्यवस्थापन र निरीक्षकको काममा सुपरिवेक्षण गर्न मासु सुपरिवेक्षकको नियुक्तिको व्यवस्था गरेको छ ।
४. पशु बध गर्नु अघि पशुको स्वास्थ्य जँचाउनु पर्छ ।
५. पशु बधशालामा मात्र पशु बध गरिनु पर्दछ । अन्य स्थानमा पशु बध गनुपर्ने भए निम्न मापदण्ड पुरा गर्नुपर्दछ ः–
(क) पशु वध गर्ने स्थानको भुई सजिलैस“ग सफा गर्न सकिने, पानी नजम्ने र नसोस्ने किसिमले पक्की गरी निर्माण गरिएको हुनु पर्दछ ।
(ख) पशु वध गर्ने स्थानमा बाहिरबाट कुनै जनावर पस्न नसक्ने व्यवस्था मिलाइएको हुनु पर्दछ ।
(ग) वध गरिएको पशुलाई भुण्ड्याएर छाला काढ्ने र मासु सफा गर्ने सुविधा भएको हुनु पर्दछ ।
(घ) स्वच्छ पानीको सुविधा भएको हुनु पर्दछ ।
(ङ) पशु वध गर्ने स्थानबाट निस्कने फोहर मैला वातावरणलाई असर नपर्ने गरी तह लगाउने व्यवस्था भएको हुनु पर्दछ ।
(च) उपयुक्त छाना भएको हुनु पर्दछ ।
६. बध गरिएको मासु जाँच गरेर मात्र बिक्री वितरण गरिनुपर्दछ ।
७. मरेको पशु वा पक्षीको मासु बिक्री वितरण गर्न पाइदैन ।
८. मिसावट गरेर मासु बिक्री गर्न पाइदैन ।
९. मासु निरीक्षकले पशुको मासु जाँच गरी मासु बिक्री गर्न अनुमति दिदाँ त्यस्तो मासुमा छाप वा चिन्ह लगाउनु पर्छ
१०. ऐन र नियमावलीमा उल्लेख भए बमोजिमको मापदण्ड पुरा नगरी मासुजन्य वस्तुहरुको बिक्री नगरेमा कानुन अनुसार दण्ड (रु.५०००, १००००, २०००० जरिवाना, १ महिना, ३ महिना कैद वा दुवै सजाय) हुन्छ ।
पशु वधशालाको स्थापना र सञ्चालन गर्दा पालन गर्नु पर्ने शर्त तथा अपनाउनु पर्ने मापदण्ड
(क) वध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी वध गर्न योग्य पशु राख्ने छुट्टा छुट्टै स्थानको व्यवस्था भएको,
(ख) विरामी पशु राख्ने अलग्ग स्थानको व्यवस्था भएको,
(ग) वध गर्नुभन्दा अघि पशुको स्वास्थ्य परीक्षण गर्नको लागि आवश्यक स्थानको व्यवस्था भएको,
(घ) वध गर्नु भन्दा अघि वेहोस बनाउने, वध गरेपछि रगत निर्थोर्ने, छाला काड्ने, खुइल्याउने, मासु सफा गर्ने तथ आन्द्रा भुंडी तह लगाउने र सफा गर्ने छुट्टै स्थानको व्यवस्था भएको,
(ङ) पशु वध गरिसकेपछि मासु परीक्षण गर्ने मानिसले उपभोग गर्न अयोग्य मासु तह लगाउने स्थानको व्यवस्था भएको,
(च) आवश्यक मात्रमा चिसो तथा तातो पानीको व्यवस्था गरिएको,
(छ) वध गर्न ल्याइएका पशु बाहेक अन्य कुनै पनि पशु प्रवेश गर्न नसक्ने गरी निर्माण गरिएको,
(ज) पशु वधशालाभित्र काम गर्ने कोठाहरुमा आवश्यक मात्रमा प्रकाश र स्वच्छ हावा आउने गरी व्यवस्था मिलाइएको,
(झ) पशुको स्वास्थ्य परीक्षण गर्ने स्थान, वध गरिने स्थान, मासु परीक्षण गर्ने स्थानको भूई सजिलैैस“ग सफा गर्न सकिने, पक्की, पानी नसोस्ने र ढल निकासको समुचित व्यवस्था मिलाएको,
(ञ) पशु वधशालामा आप्mनो पशुको वध गरेको हेर्न चाहनेका लागि पशु वध गरिने स्थानमा प्रवेश नगरीकन यस्तो कार्य हेर्न सकिने व्यवस्था मिलाइएको,
(ट) मासु सुरक्षितसाथ राख्नको लागि अवश्यक शीत भन्डारको व्यवस्था भएको,
(ठ) वध गरिने पशु ओसार पसार गर्न प्रयोग गरिने सवारी साधन राखिने स्थान पक्की, सजिलैस“ग सफा गर्न सकिने र वधशाला भन्दा अलग्ग निर्माण गरिएको,
(ड) पशु वध गरिने स्थानमा,–
(१) टेवुलको सतह खिया नलाग्ने भएको,
(२) मासु झुण्डयाउन प्रयोग हुने रेल (मिट रेल्स) ग्याल्भेनाइज्ड नगरिएको,
(३) अचानो बाहेक अन्य वेञ्च र टेवुलको सतहमा काठ प्रयोग नगरिएको,
(४) वध गरिएको पशु झुण्डयाउन आवश्यक पर्ने घिर्नी (पुल्ली), अंकुश (हुक) तथा डोरीको व्यवस्था गरिएको,
(५) प्रयोग गरिने हतियार, औजार तथा उपकरण खिया नलाग्ने किसिमको भै निर्मलीकरण गर्ने सुविधा भएको ।
(ढ) पशु वध गरिने स्थानमा देहायका सामग्रीहरु प्रयोग गर्न पाइने छैन ः–
(१) तामा र सो मिसिएको ढलौट तथा क्याड्मियम प्रयोग गरिएको हतियार तथा उपकरणकहरु,
(२) पालिस वा इनामेल लगाइएका भा“डा, हतियार तथा उपकरणहरु,
(३) शिशा (लिड) युृक्त भाडा तथा उपकरपणहरु ।
(ण) देहायका पशु वध गर्ने स्थान छुटृा छुट्टै हुनु पर्नेछ ः–
(१) भेडा ÷बाख्रा ÷ च्याङ्ग्रा
(२) रांगो ÷ भैसी
(३) बंगुर ÷सुंगुर
(४) पंक्षी जाती
(त) पशु वधशालाभित्र प्रवेश गर्ने व्यक्तिले व्यवस्थापनद्वारा निर्धारित पहिरन र जुत्ता (रबर बुट) लगाएर मात्र प्रवेश गर्नु पर्नेछ ।
(थ) कुनै पशुमा देहायका अवस्था भेटिएमा उक्त पशु वध गर्न पाइने छैन ः–
(१) कुनै संक्रामक रोगको लक्षण देखिएमा,
(२) ज्वरो आएको भएमा,
(३) सुकेनासको स्थिति भएमा,
(४) गर्भवती भएको कुनै लक्षण देखिएमा,
(५) दुध खाने अवस्थाको बच्चा साथमा भएमा ।
मासु बिक्रेताले पालन गर्नुपर्ने शर्त तथा अपनाउनु पर्ने मापदण्ड
पशु बधशाला स्थापना र सञ्चालनका सन्दर्भमा सम्बन्धित मासुजन्य वस्तुको बिक्री वितरण गर्ने व्यवसायीले निम्न सर्त र मापदण्ड पालना गर्नुपर्दछ (पशु बधशाला तथा मासु जाँच नियमावली, २०५७)ः
(क) आप्mनो पसलबाट बिक्री गरिने मासु नियम अनुसारको छाप वा चिन्ह लागाइएको हुनु पर्ने,
(ख) छाप वा चिन्ह लागाइएको मासुको अंश बिक्रीको अन्तिम समयसम्म देखिने गरी राख्नु पर्ने,
(ग) मासुमा पानी छर्कन वा मासु पानीमा डुबाउन वा पानीमा भिजाइएको कपडाले छोप्न नपाइने,
(घ) मासु झुण्ड्याउंदा छाना, भित्ता, भुई वा खम्वामा नछोइने गरी झुण्ड्याउनु पर्ने,
(ङ) मासु तौलने ढक तराजुहरु अन्य वस्तु वा भुईमा लसपस नहुने गरी राख्नु पर्ने,
(च) प्रयोग नभएको अवस्थामा अचानो तथा टेबुल सफास“ग रहने गरी छोप्नु पर्ने,
(छ) मासुको आकर्षण बढाउन वा मासु सड्नबाट बचाउन कुनै प्रकारको रंग, औषधि वा रसायन प्रयोग नगर्ने,
(ज) वध गरिएको पशुको भित्रयांश, आन्द्रा भुंडी, टाउको, खुट्टी, रक्ति जस्ता भाग मासु पसलमा नै राखी बिक्री गर्न चाहेमा मासुसँग लसपस नहुने गरी अलग्गै राखी बिक्री गर्न पर्ने,
(झ) मासु बिक्री गर्ने पसल देहाय बमोजिम निर्माण गरिएको हुनु पर्नेछ ः–
(१) बिक्री कक्ष पानी नजम्ने र नसोस्ने गरी सजिलैस“ग सफा गर्न सकिने र चरा, किरा, मुसा प्रबेश गर्न नसकिने गरी बनाइएको,
(२) पसलको भित्ता पक्का खालको र सजिलैस“ग सफा गर्न सकिने तथा सिलिङ धुलो मैलो नखस्ने र पानी नतप्किने गरी बनाइएको,
(३) तौल गर्नको लागि प्रयोग हुने तराजु झुण्ड्याइएको वा अलग्गै टेबुलमा राखिएको बाँकी ३ पेजमा र पर्याप्त स्थान भएको,
(४) खेर गएको मासुका टुक्रा, तरल पदार्थ वा अन्य पदार्थ सहज किसिमले तह लगाउने व्यवस्था मिलाइएको,
(५) मासु राख्ने टेबुल वा दराज किरा वा धुलो पस्न नसक्ने गरी जाली वा शिशा लगाइएको र जमिनभन्दा कम्तीमा पचास सेन्टीमिटर उचाई भएको ।
मासुको ओसार पसार गर्दा पालन गर्नुपर्ने शर्त तथा अपनाउनु पर्ने मापदण्ड
(१) मासु ओसार पसार गर्दा ओसार पसार गर्ने साधन देहाय बमोजिमको हुनु पर्नेछ ः–
(क) मासु ओसार पसार गर्ने साधनको भित्री भागमा प्रयोग गरिएको सबै सामग्रीहरु खिया नलाग्ने, चिल्लो सतह भएको, पानी नसोस्ने, सजिलसँग सफा गर्न सकिने र निःसंक्रमण गर्दा प्रयोग गरिने रसायनले कुनै असर नपर्ने खालको भएको,
(ख) मासु ओसार पसार गर्ने साधनमा जडित भ्mयाल ढोकाहरु राम्ररी बन्द गर्न सकिने किसिमको भएको,
(ग) मासु ओसार पसार गर्नुपर्ने अवधिभर आवश्यक तापक्रम मिलाएर राख्न सकिने किसिमको भएको,
(घ) मासु ओसार पसार गर्दा मासु राख्न प्रयोग हुने भांडोको भित्री भाग, औजार तथा उपकरण सफा र खिया नलाग्ने भएको ।
(२) मासु ओसार पसार गर्दा देहाय बमोजिमको व्यवस्था मिलाइएको हुनु पर्नेछ ः–
(क) मासुको ओसार पसार खुल्ला रुपमा गर्न नपाइने,
(ख) मासुसँग आन्द्रा भुंडी, भित्र्यांश, टाउको, खुट्टी जस्ता पदार्थ ओसार पसार गर्नु परेमा मासुसँग लसपस नहुने गरी अलग अलग बन्द गरी लैजानु पर्ने,
(ग) मासु ओसार पसार गरिने साधन मासु राख्नु अघि निःसंक्रमण गरिएको हुनु पर्ने,
(घ) ओसार पसार हुने मासुको कुनै पनि भाग जमिन वा खुला ठाउ“मा नछोइएको र अन्य कुनै वस्तुबाट दुषित नभएको हुनु पर्ने,
(ङ) मासुको ओसार पसारमा प्रत्यक्ष संलग्न रहने व्यक्ति क्षयरोग वा अन्य संक्रामक रोग लागेको हुन नहुने ।
मानव स्वास्थ लगायत मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्वच्छ वातावरण, स्वच्छ खानेकुरा खान पाउने अधिकार वा उपभोग गर्न पाउने अधिकार हरेक मानिसमा हुन्छ, जसलाई हामी उपभोक्ताको हक भन्छौ । मानिसको स्वास्थ्यलाई ठीक राख्नमा हामीले दैनिक जीवनमा उपभोग गर्ने वस्तुहरुको उल्लेखनीय भूमिका हुन्छ । हामीले दैनिक जीवनमा उपभोग गर्ने वस्तुहरु, खाद्यन्न वा सामाग्रीहरु सही, उपयुक्त र स्वस्थकर हुनु पर्दछ, जुन हामी उपभोक्ताहरुको अधिकार भित्र पर्दछ । हरेक उपभोक्तमा आफ्नो हक हित र सरोकार संरक्षण गर्ने प्रयोजनका लागि तपसिलको अधिकार हुनेछ भनी उपभोक्ता संरक्षण ऐन, २०७५ मा उल्लेख गरिएको छ ः
१. वस्तु वा सेवामा सहज पहँचको अधिकार,
२. स्वच्छ प्रतिपर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनौट गर्न पाउने अधिकार,
३. वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदि बारे सूचित हुने अधिकार,
४. दुई वा दुईभन्दा बढी पदार्थको समिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा, तत्व वा प्रतिशतको सम्बन्धमा उत्पादक, पैठारीकर्ता वा बिक्रेताबाट जानकारी पाउने अधिकार,
५. मानव जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पु¥याउने वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार,
६. अनुचित व्यापारीक तथा व्यवसायीजन्य क्रियाकलाप विरुद्ध उचित कानुनी कारबाही गराउन पाउने अधिकार,
७. वस्तु वा सेवाको प्रयोगबाट भएको हानी, नोक्सानी विरुद्ध क्षतिपूर्ति पाउने अधिकार,
८. उपभोक्ताको हक, हितको संरक्षणको सम्बन्धमा अधिकार प्राप्त अधिकारी वा निकायबाट उपचार पाउने वा सुनुवाई हुने अधिकार,
९. उपभोक्ता शिक्षा पाउने अधिकार ।
यसैगरी उक्त ऐनमा प्रत्येक सेवा प्रदायकले उपभोक्तालाई सेवा प्रदान गर्न निम्नानुसार दायित्व वहन गर्नुपर्दछ भनेर प्रष्ट लेखिएको छ ।
१) बिना भेदभाव उपभोक्तालाई सेवा प्रदान गर्ने,
२) सर्वसाधारणले स्पष्ट रुपमा बुझ्ने गरी सबैले देख्ने ठाउँमा आफूले प्रदान गर्ने सेवाको प्रकृति र सो सेवा प्राप्त गरेबापत उपभोक्ताले तिर्नुपर्ने मूल्यको सूची राख्ने,
३) सम्बन्धित निकाय वा अधिकारीले माग गरेका वखत आफूले प्रदान गर्ने सेवासँग सम्बन्धित विवरण तथा कागजात उपलब्ध गराउने,
४) पहिले आउने उपभोक्तालाई पहिले सेवा प्रदान गर्ने,
५) उपभोक्तालाई सेवा प्रदान गरेवापतको रकम लिएपछि त्यसको बिल वा रसिद दिने ।
सिन्धुलीको अवस्था
माथि उल्लेख गरिएका कानुनी व्यवस्था अनुसार आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नु, पशु बधशाला सञ्चालक एवम् मासु पसल व्यवसायीहरुको प्रमुख कर्तव्य हो । त्यसैगरी प्रत्येक बधशाला सञ्चालक एवम् मासु व्यवसायीले हरेक उपभोक्ताको स्वस्थ, सफा, स्वच्छ मासु खान पाउने अधिकारको सम्मान गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने तथ्यमा विवाद हुनु हुदैन । आफ्नो अनुभवको आधारमा सिन्धुली जिल्लाको बधशाला एवम् मासुपसलसँग सम्बन्धित तपसिलका यथार्थ यस कार्यपत्रमा समेट्न उचित लागेको छ ः
१) सिन्धुलीमा आधुनिक जनस्वास्थ्य एवम् उपभोक्ता मैत्री पशु बधशालाको व्यवस्था भएको देखिदैन ।
२) मासु ओसारपसार गर्दा नछोपी ठुला भाडामा राखी मानिस वा साना गाडीको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा लाने गरेको देखिन्छ ।
३) पशुको बध गर्दा प्रयोग गर्नुपर्ने कानुन बमोजिमको पोशाक र सामाग्रीको प्रयोग गरेको पाइदैन ।
४) मासु पसलमा झिगाँ उडिरहेको देखिन्छ ।
५) ब्रोइलर कुखुराको मासु पसलमा एक प्रकारको गन्ध आइरहेको हुन्छ ।
६) कानुनमा व्यवस्था भएभन्दा उल्टो खसीको मुख्य मासुसँगै आन्द्राभुडी, खुट्टी, टाउको राखेर बिक्रि वितरण गरेको पाइन्छ ।
७) पशु बध गर्ने खुल्ला स्थान नजिक पशुको मल, भुत्ला लगाएतका वस्तु छरपस्ट छरिएको हुन्छ ।
८) आधुनिक व्यवस्थासहित मासुपसल सञ्चालन गर्नुपर्नेमा सडक किनारामा, धुलो उड्ने स्थानमा साना टहरा बनाई मासु पसल सञ्चालन गरेको देखिन्छ ।
९) एउटा पशुको बध गरिरहेको दृश्य अर्को पशुले हेरिरहेको हुन्छ ।
१०) समग्रमा पशु बधशाला सञ्चालन एवम् मासु जाँच ऐनमा भएको सर्त एवम् मापदण्ड अनुसार सिन्धुलीमा मासुपसल सञ्चालन भएको पाइदैन ।
सरोकारवालहरुको भूमिका
बधशाला र मासु पसल सफा र स्वच्छ रहे हामी उपभोक्ताको स्वास्थ्य पनि राम्रो रहन्छ । यसर्थ पशु बधशाला र मासुपसलको स्तर उन्नति गर्न, ऐन नियमअनुसार आफ्नो व्यवसाय सञ्चालन गर्ने र उपभोक्ताको अधिकार पूरा गराउन यससँग सम्बन्धित सरोकारवालाहरुले निम्नानुसार भूमिका खेल्नुपर्ने देखिन्छ ः
१) सिन्धुली जिल्लामा सरकारी तवरबाटै आधुनिक पशु बधशालाहरु स्थापना गरी मासुजन्य उपभोगका लागि बध गरिने पशुहरुको बध त्यही बधशालामा गर्ने,
२) गैरसरकारी क्षेत्रबाट पनि आधुनिक पशु बधशाला निर्माणका लागि उत्प्ररित गर्ने,
३) मासुजन्य वस्तुको उपभोगको सन्दर्भमा जनचेतना वा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गर्ने,
४) बधशाला सञ्चालक र मासुपसल सञ्चालकहरुलाई विद्यमान कानुनी व्यवस्थाका सम्बन्धमा प्रशिक्षित गरी कानुन र नियममा भए बमोजिम बधशाला र मासुपसल सञ्चालन गर्न प्रेरित गर्ने,
५) उपभोक्ता अधिकारका लागि जिल्लास्तरमा वा स्थानीय तहस्तरमा अनुगमन संयन्त्रलाई क्रियाशील गराई अनुगमनलाई नियमित र प्रभावकारी बनाउने,
६) खुल्ला स्थानमा पशु बध गर्ने, एउटा पशु बध गरिरहेको दृश्य अर्को पशुले हेरिरहनु पर्ने, खुला स्थानमा मासु पसल सञ्चालन गर्ने कार्य तत्काल बन्द गरिनुपर्ने,
७) स्वस्थ मासु प्रयोग गर्नका लागि अपनाउनुपर्ने सावधानी, कानुनी व्यवस्था लगायत विषयमा सर्वसाधारणबीच बहसको विषय बनाइनुपर्ने,
८) पशुबधशाला र मासु जाँच ऐन, २०५५ र नियमावली २०५७ को प्रभावकारी कार्यन्वयनका लागि सम्बन्धित सरकारी अधिकारीहरुलाई नागरिक समाजले दबाब सिर्जना गुर्नपर्ने ।
अन्तमा प्रत्येक उपभोक्तालाई सफा र स्वस्थ मासु खान पाउने हक छ । उपभोक्ताको उक्त हक बमोजिम पशु बधशाला र मासुपसल सञ्चालन गर्नु सम्बन्धित सेवा प्रदायक (व्यवसायी) को कर्तव्य हो । कानुनमा व्यवस्था भएबमोजिमको पशु बधशाला र मासुपसल सञ्चालन गराउने मुख्य दायित्व अधिकारप्राप्त सरकारी अधिकारीहरुको हो । स्वस्थ मासु प्रयोगका लागि आम सर्वसाधारण लाई सचेत र जागरुक गराउने कार्य नागरिक समाज र नागरिक संघ संस्थाको हो । यसतर्फ सबै सरोकारहरुको सकारात्मक ध्यान पुगेमा सिन्धुलीमा मासुजन्य वस्तुको बिक्री वितरण सफा, स्वच्छ र स्वस्थ हुने र यसले हामी सबैको मानवीय स्वास्थ्यमा राम्रो प्रभाव पर्छ भन्नेमा शंका छैन ।
(लेखक अधिवक्ता तथा उप–प्रध्यापक, सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार, सिन्धुली)




















