महिनावारीलाई अझै पनि हाम्रो समाजमा पापकै रुपमा लिने गरेको पाईन्छ । महिनावारी भएको समयमा बार्नु पर्छ नभए पाप लाग्छ भनेर किशोरीहरुलाई डर देखाइन्छ । जसका कारण पढाई, परीक्षा, घर परिवार किशोरीहरुले सबै त्याग्नुपर्छ । अछुत भएर बस्नुपर्छ ।

पढाई र परीक्षा दिनै समस्या
कमलामाई नगरपालिका ७ दोबानटारकी मनिसा थापा १३ बर्षको उमेरमा पहिलो पटक महिनावारी भइन । त्यतिबेला उनी कक्षा ७ मा पढ्दै थिइन । महिनावारी भएको कुरा परिवारले थाहा पाएपछि मनिसालाई महिनावारी वार्न घरबाट छिमेकीको घरमा लगेर राखियो । मनिसा ७ दिनसम्म छिमेकीको घरमा बसिन् । त्यो समय उनलाई बिद्यालय जानबाट समेत बञ्चित गरियो । मनिसाले पढ्ने शिद्धबाबा बोडिङ्ग स्कुलमा मनिसा पहिलो पटक महिनावरी भएर स्कुल आउन नहुने कुरा फोनबाट परिवारले जानकारी गराईदिए । मनिसा भन्छिन्, ‘शिक्षकले धेरै लामो समयसम्म स्कुल छुटाउनु हुदैन ।
स्कुल पठाईदिनु भनेर शिक्षकले भनेको मनिसालाई पछि परिवारका सदस्यले सुनाए । पहिलो पटक महिनावारी हुदा मनिसाको परिवारमा सबैलाई त्यसै गरिन्थ्यो, आमा, काकी, भाउजु, दिदी सबैले त्यसै गर्दै आईरहेका छन् । पहिलो पटक महिनावारी हुदा घरपरिवारमा दाजुभाई, बुवा अथवा पुरुषको अनुहार हेर्नु हुदैन पाप लाग्छ भनेर मनिसालाई परिवारले त्यसो गरेका हुन् ।
कमलामाई नगरपालिका ७ गडौली पुलचोक बस्नु हुने स्वस्तिका सुबेदी पनि १४ वर्षको उमेरमा पहिलो पटक महिनावारी भइन । स्वीस बोर्डिङ स्कुलमा ७ कक्षामा पढ्दै गर्दा महिनावारी भएकी उनको विद्यालयमा परीक्षा चलिरहेको थियो ।
परीक्षा चलिरहेको भए पनि उनको परिवारले उनलाई विद्यालय जान रोक्यो र छिमेकीको घरमा पठायो । स्वस्तिका पनि ७ दिनसम्म छिमेकीको घरमा बसिन् । स्वस्तिका र स्वस्तिकाको भाइ एउटै स्कुलमा पढ्ने भएकोले महिनावारी भएको पहिलो पटक स्वस्तिकाले भाईको अनुहार हेर्नु नहुने भन्दै परिवारले स्वस्तिकालाई परीक्षा दिनबाट समेत बञ्चित गराए । बोडिङ्गमा बिरामी भएर स्कुल आउन नसकेको बाहाना पारियो । स्वस्तिकालाई पछि परीक्षा दिन सक्ने बाताबरण मिलाईयो । स्वस्तिका भन्छिन,् ‘महिनाबारीको समय सकिएपछि परीक्षा दिएँ ।’
मनिसा र स्वास्तिका मात्र हैन । श्वेता पनि महिनावारी भएको ७ दिनसम्म घर र बिद्यालय दुबै छोडेर अन्तै छिमेकीको घरमा शरण लिइन । महिनावारी भएको पहिलो पटक ७ दिनसम्म घर र बिद्यालय दुबै छोडिन् । त्यतिबेला श्वेताको पनि परिक्षा कै समय थियो । यमुना कार्की, मुना सुनुवार र प्रतिक्षा कार्की यी किशोरीहरु पनि पहिलो पटक महिनावारी भएको कारण घर र बिद्यालय दुबैबाट अलग हुनु परेको थियो ।
किशोरीहरु महिनावारीका बेलामा घर र बिद्यालय दुबैबाट अलग हुने परम्परा सदरमुकाम सिन्धुलीमाढीमै व्याप्त देखिएको छ । किशोरीहरुलाई घरपरिवारले संस्कार सस्कृतिको नाममा पापको डर देखाई घर र बिद्यालय दुबैबाट अलग गरिरहेका छन । पहिलो पटक मात्र हैन ४ दिन किशोरीहरुले घरभित्रै महिनावारी भएका बेलामा अछुत भएर वार्ने परम्परा कायमै छ । यस्तो छोइछिटो वार्न लगाउनेमा उनीहरुकै परिवारका सदस्य रहेका छन ।
पत्रकारका पीडा पनि उस्तै
आज भन्दा १० बर्ष अगाडि यस्तो परम्परा झन कडा थियो । पहिलो पटक महिनावारी हुदा घर र बिद्यालय दुबैबाट अलग भएका हुने कमलामाई नगरपालिका ४ मल्लगाँउमा बस्ने सर्मिला खड्का र प्रमिला खड्का दुवैले घर र विद्यालय दुवै त्यागे । त्यो समय प्रमिला र सर्मिला दुबै जन्ता बोडिङ्ग स्कुलमा पढ्थे । पहिलो पटक महिनावारी हुँदा २१ दिनसम्म प्रमिलाले छिमेकीको शरण लिइन । छुटेको पढाईलाई साथिहरुको सहयोगमा पुरा गरेकी उनले साथिहरुकै सहयोगमा २१ दिन विताउनुपरेको थियो ।
सर्मिलाको भने त्यति बेला ८ कक्षाको फाईनल परीक्षा चलिरहेको थियो । परीक्षा कै समयमा पहिलो पटक महिनावरी भएकै कारण सर्मिला परीक्षामा सहभागि हुन पाईनन् । स्कुल जान परिवारले बन्देज लगाएर छिमेकीको घर तिर लगे । सर्मिला भन्छिन,् त्यति बेला दाइले पहिलो पटक महिनावारी भएको कारण बिद्यालय आउनु नहुने कारण खुलाएर परीक्षामा सामेल नभएको निबेदन दिएर स्कुलमा जानकारी गराईदिएका थिए । छुटेको बाँकी परीक्षा पछि एक्लैले दिईन् । उनीहरु दुवैजना सञ्चारकर्मी हुन ।
दुधौली नगरपालिका ३ निपानेकी अर्की सञ्चारकर्मी राधिका बुढाथोकीले पहिलो पटक महिनावारी हुदा ७ दिनसम्म छिमेकीको सरण लिइन । ‘त्यो समय घरपरिवार आफन्तले जे भने पनि स्वीकार्नु पर्ने अबस्था थियो । प्रति उत्तर गर्न सक्ने आँट थिएन । त्यसैले पनि पहिलो पटक महिनावारी भएकै कारण घर छोडियो’ राधिका भन्छिन ।
महिला अधिकारकर्मी शान्ता पाख्रिन भन्छिन्, ‘महिनावारी हुनु पाप मानिन्छ । आजपनि यसको प्रभाव उत्तिकै छ । महिनावारी नबारेमा पाप लाग्छ भनि डर देखाइन्छ । जसका कारण किशोरीहरुले सबै त्याग्न बाध्य भएका छन ।’ उनी भन्छिन, यो समस्या जनजाति महिलाको तुलनामा क्षेत्री ब्राह्मण समुदायमा बढी छ । हरेक महिना ४ दिन बार्ने परम्परा त छदैछ पहिलोपटक झनै घर परिवार, विद्यालय सबै त्याग्न बाध्य छन ।
उनका अनुसार बिस बर्ष अगाडी त झन पुरुष घाम र घरको धुरी त हेर्नै हुदैन भनि २१ दिनसम्म कालो कोठामा राखिदिने परम्परा थियो । आजभोली भने केहि सुधार भएको छ । उनी भन्छिन, ‘महिनावारी वार्नु हुदैन भन्ने अधिकारकर्मीहरु नै संस्कार, संस्कृति, परम्परा भन्दै बार्ने गर्छन् । यसले गर्दा व्यवहारमा परिवर्तन आएको छैन ।’
पाख्रिन भन्छिन, ‘यो किशोरीको प्रगतिको बाधक बनिरहेको छ । हरेक आमाले महिनावारी बार्नु हुदैन भनि घरबाटैै अभियान चलाउन जरुरी छ ।’
के परिवर्तन हुदैछ ?
नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले पनि पहिलो पटक महिनावारी हुदा छिमेकीको शरण लिएर बसिन । ‘मैले महिनावारी हुदा नचाहेरै छिमेकीको शरण लिएँ तर म मेरा छोरीहरुलाई महिनावारी बार्न दिन्न’ उनको प्रतिवद्धता छ । उनी महिनावारी बार्ने गरेकी छैनन ।
ओरेक नेपालकी कार्यक्रम संयोजक सपना थापाले पनि महिनावारी बार्ने गरेकी छैनन । उनको घर परिवारले महिनावारी बार्नु पर्छ भनेर कर लगाइएको थियो तर उनले त्यसलाई मानिनन । यस्तै सर्च फर कमन ग्राउनका कार्यक्रम संयोजक बिमला कडायतले महिनावारी बार्दिनन । पछिल्लो युवा पुस्ताले महिनावारीलाई बार्नु पर्दैन भनेर आवाज उठाउने र ब्यबहारमा समेत लागु गर्न थालेको देखिन्छ । तर यसलाई न्युनिकरण गर्नको लागि धर्म संस्कार संस्कृतिसंग जोडेर अधिकारकर्मीलाई नै गाली गरेको पाइन्छ ।
के भन्छन् धर्म गुरु ?
हिन्दु धर्म गुरु तथा नेपाल राट्रिय अन्तर धार्मिक सञ्जाल नेपालका उपाअध्यक्ष रामचन्द्र भण्डारीले धर्म र बिज्ञानलाई फरक कुरा मान्दछन । मानव शरिर बिज्ञानसंग र धर्म मानसिक चिन्तनसंग जोडिएको उनी बताउँछन । उनका अनुसार महिनावारी पनि शरीरमा उत्पन्न हुने प्रक्रिया भएकाले धर्मसँग कुनै सम्बन्ध हुदैन । महिलाको महिनावारीको सुरुवात हुनु सन्तान उत्पादनको लागि तयार हुनु हो । फोहोर मैला नगर महिनावारीको समय धेरै हिडडुल नगर। शरिरको सुरक्षा गर भन्ने जस्ता वैज्ञानिक तथ्यको गलत व्याख्याले समाजमा समस्या आएको भण्डारीले बताए । यसको समाधानमा धर्म गुरुको पनि हात हुन्छ , उनी भन्छन ।
शिक्षा, आत्मबल, ज्ञानको कमिको कारण समाजमा समस्या उत्पन्न भएको उनको भनाई छ । उनी भन्छन, हिन्दु धर्मले महिनावारी बार्न भनेको छैन गलत व्याख्या गरिनु हुन्न ।
यस्तै बौद्ध धर्म गुरु भिक्षु प्रियदर्र्शीका अनुसार बौद्ध धर्ममा महिनावारी भएका पहिलोे पटक घर छोड्नु पर्छ, प्रत्येक महिना बार्नुपर्छ, मन्दिर जान या पुजा गर्नु हुदैन भनिएको छैन । तर परम्परा, पद्दती, संस्कारका रुपमा महिनावारी बार्ने चलन चलि आएको छ । तर धर्मले महिनावारी नबारे पाप लाग्छ भनेको छैन ।
बौद्ध धर्म मान्नेहरुले पनि महिनावारीको समयमा पुजापाठ गर्न नमान्ने गरेका पनि छन । चेतनाको कमीका कारण यस्तो भएको उनको बुझाई छ । ‘महिनावारीका बारेमा अन्तरधार्मिक गुरुहरुले धर्मलाई बुझ्ने र बुझाउने परिपाटीमा एकरुपता ल्याउनुपर्छ’, प्रियदशी भन्छन ।
यता महिला हिंसा बिरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जाल कार्यक्रम संयोजक नहिदा बानु इस्लाम धर्म मान्छिन । उनले इस्लाम समुदायको धर्मको बारेमा लेखिएका थुप्रै किताबहरु पल्टाएर हेरिन । ‘महिनावारी भएको समयमा बार्नु पर्छ पाठपुजा गर्नु हुदैन भनेको अहिलेसम्म भेटेकी छैनन ।
ईस्लाम धर्म मान्ने उनको समुदायमा पनि महिनावारी भएको समयमा महिला या बालिकाहरुलाई नमाज पढ्न, पुजा गर्न दिइदैन । नहिदा बानुले पनि महिनावारी भएको पाँच दिनसम्म नमाज पढ्दिनन । उनी भन्छिन, ‘हामी अभियन्ता पनि परम्परा बादी साेंच र संस्कारबाट प्रभावित छौँ ।’ समाज र कानुन बलियो भएमा धर्म शास्त्र नै परिवर्तन हुने उनको तर्क छ । उनी भन्छिन, ‘आवाज उठाऔँ र बोलौँ महिनावारी पाप होइन बार्नु पर्दैन ।’




















