
अध्यक्ष, लघु उद्यमी समूह संघ
३ नं. प्रदेश
तोतादेवी बोगटी (४०) सिन्धुलीकी सक्रिय महिला उद्यमी हुन । वि.सं.२०३५ सालमा सोल्पाठाना गाविस हाल फिक्कल गाउपालिका ५ मा माता धनमाया खड्का र पिता जितबहादुर खड्काको कोखबाट जन्मेकी हुन । करीब १७ वर्षअघि तीनपाटन गाउँपालिका ४ घर भएका तारा बहादुर बोगटीसँग विवाह बन्धनमा बाँधिएकी बोगटीको पारिवारीक जीवन त्यति सहज भएन । विवाहको एक वर्षमा एक छोरी जन्माएकी बोगटीको छोरीको आठ महिना पालेपछि मृत्यु भयो । त्यसपछि सन्तान जन्मेनन । करीब १३ वर्षदेखि श्रीमानले अर्की श्रीमति लिएर वेपत्ता भएको खबर पाएकी बोगटी त्यसपछि बाँकी जीवनलाई सहज कसरी बनाउने भन्ने अभियानमा लागिन । यसै क्रममा वि.सं. २०६१ सालमा रेयुकाई नेपालबाट सिलाई कटाई सम्बन्धि तालिम लिएपछि महिला उद्यमीका रुपमा सिलाई व्यवसाय सुरु गरेकी उनी लघु उद्यम क्षेत्रकी सफल प्रशिक्षक, उद्यमी तथा नेतृ हुन । व्यवसायीक महिलाहरु नै अबको नेतृत्वका भागिदार रहेको बताउने उनले आफ्नो जीवनकालमा धेरै उतारचढाव पनि भोगिन पारिवारीक तनावका बीचमा आफुलाई उद्यमी बनाउन सफल उनले विगत ८ वर्षदेखि जिल्ला लघु उद्यमी समूह संघ सिन्धुलीको २ कार्यकाल अध्यक्ष सहित नेतृत्वमा रहेर काम गरिसकेकी छिन । आफुलाई सफल उद्यमी बनाउन लगनशिलता, दृढता र आत्मविश्वास चाहिने बताउने उनले लघु उद्यमीहरुको प्रदेशस्तरीय निर्वाचनबाट ३ नं. प्रदेशको अध्यक्षको जिम्मेवारी समेत सम्हालेकी छिन । उनै उद्यमी महिला तोतादेवीसँग सम्पादक बिमला पाण्डेले गरेको कुराकानी ।
तपाईंले व्यवसायको कसरी सुरु गर्नुभयो ?
वि.सं २०६१ सालमा रेयुकाईले महिलाहरुलाई सिन्धुलीको तिनपाटनमै तालिम दिएको थियो । उक्त तालिम लिएपछि २०६३ सालमा एउटा मेसिन राखेर हालको तीनपाटन गाउँपालिका वडा नं. ११ चकमकेमा रिता टेलरिङको सुरुवात गरें । त्यहि टेलरिङलाई विकास गरेर तालिम केन्द्रका रुपमा सञ्चालन गरेको छु । श्रीमानले अर्की श्रीमति लिएर वेपत्ता भएपछि कसरी जिविका चलाउने भन्ने चिन्ता थियो । जब म उद्यमी बने आफुलाई जीवन चलाउन सजिलो भएको छ ।
तपाईको व्यवसाय विस्तारका लागि के गरिरहनु भएको छ ?
मैले टेलरिङसँगै कपडाको होलसेल पनि गर्छु । ६ जनालाई टेलरमा रोजगारी पनि दिएकी छु । तालिम केन्द्रका रुपमा ५, ६ वर्षदेखि सञ्चालनमा आएको मेरो टेलरिङमा मात्र हालसम्म ४ सय महिलाले तालिम लिईसकेका छन । सरकारी निकायहरु घरेलु, स्थानीय तह, हेल्भेटास लगाएतका संघसंस्थाको सहयोगमा तालिमहरु सञ्चालन गरिरहेकी छु । प्राईभेट रुपमा पनि दैनिक ३, ४ जना महिलाहरुले तालिम लिईरहेका हुन्छन ।
तपाईंको मासिक आम्दानी कति हुन्छ ?
मेरो व्यवसायबाट सबै खर्च कटाएर मासिक कम्तिमा ३० देखि ४० हजार नाफा हुन्छ । यहि कमाईबाट चकमकेमा घर बनाएँ, सिन्धुलीमा १० धुर घडेरी किनें । ससुराले दिएको अंश बेचेर काठमान्डौको कपनमा दिदीबहिनी मिली ४ आना जग्गा जोडें । यहि हो मेरो आर्थिक आम्दानी ।
व्यवसाय सञ्चालनमा परिवारको सहयोग कस्तो रह्यो ?
मेरो काममा मेरा ससुराको सहयोग छ । श्रीमानले अर्की श्रीमति लिएर वेपत्ता भएपछि ससुराले मलाई नै अंश दिनु भयो । ४ वर्ष अघि नै अंश लिएँ । अहिले पनि मेरो काममा सहयोगी बनिरहनुुहुन्छ ।
श्रीमान बेपत्ता भए पछि विवाह नगरी बस्नु भयो ? किन ?
म अर्को विवाह गर्दिन । विहे गरुँला फेरी पनि समस्या उस्तै होला भन्ने लाग्छ । म एक्लो छु । विवाहको एक वर्षमा एक छोरी जन्मेकी थिइन । ति पनि ८ महिना पालेर मरिन । मलाई अव आफ्नो जीन्दगी यसै रमाईलो लाग्न थालेको छ । समाज र महिला उद्यमी व्यवसायीका लागि काम गर्छु । मलाई एक्लो हुदा नेतृत्व गर्न झनै सजिलो भएको छ । हिजो कुरा काट्नेहरु आज रिता जस्तो हुनुपर्छ भनेर उदाहरण दिन्छन । यसले पनि खुशी दिन्छ ।
व्यवसाय र समाजसेवा गर्दा कुनै खालको हिंसा भोग्नु भएको छ ?
छैन । महिला भएकै कारण मैले हिंसा, अपमान भोग्नु परेको छैन । बरु सहयोग नै पाएको छु । सानातिना कुराको म वास्ता पनि गर्दिनँ ।
लघु उद्यमीहरुको नेतृत्व गर्नुभएको छ सिन्धुलीमा लघुउद्यमीहरुको अवस्था के छ ?
जिल्लामा ४ हजार ४० जना लघु उद्यमी मध्ये ३ हजार ३५ लघुउद्यमी महिला छन । ती महिलाहरु जिल्लाका सफल उद्यमी पनि हुन । विशेष गरि महिला उद्यमी नै जिल्लाका पहिचान बनेका छन । उनीहरु विशेषत ः बाँसका हस्तकला, फाइबर, टपरी दुना, दुग्ध उत्पादन, तरकारी खेति, खाद्य आइटम, ढाका उद्योग, चाउमिन, जुनारको उत्पादन, लगाएतका उद्यमहरु राम्रो फस्टाएका छन ।
महिला उद्यमीका समस्या के हुन ?
महिला उद्यमीहरुको मुख्य समस्या नै सम्पत्ति आफ्नो नाममा नहुनु र धितोमा ऋण लिन नसक्नु हो । महिला व्यवसायीहरुका उत्पादनलाई बजारमा कम विश्वास गर्नु, क्वालिटीमा शंका गर्नु हो । यस्तै महिलामा आफ्ना कुरा प्रस्ट राख्ने क्षमताको विकास नहुनु पनि समस्या देखिएको छ ।
महिला उद्यमीको समस्या समाधान गर्न के पहल भएको छ ?
महिला उद्यमीहरुलाई घरेलुले छुटमा सामान उपलब्ध गराउँदै आएको छ । सहज ऋणका लागि लघु उद्यमी समूह संघले महिला उद्यम विकास कोषमा पहल गरिरहेको छ । गत वर्ष ८ जनाले ऋण पाए भने यस वर्ष पनि २५ जनालाई सिफारिस गरेका छौं । स्थानीय स्तरका लघु उद्यमका ११ सहकारी छन ती मार्फत सहयोग गरिरहेका छौं । यता स्थानीय तहहरुसँगको समन्वयमा नयाँ लघु उद्यमीलाई तालिम सञ्चालन गर्ने देखि व्यवसाय प्रवद्र्धनका लागि सहयोग गरिरहेका छौं । यस्तै नीजि क्षेत्र उद्योग वाणिज्य संघ लगाएतसँगको सहकार्यमा जिल्लामा लघु उद्यमीहरुका लागि काम गरिरहेका छौं । जिल्लाका लघु उद्यमीहरुका सामानको बजार प्रवद्र्धनका लागि जिल्ला बाहिर तथा देश बाहिर पनि पहल गरेका छौं । जसले लघु उद्यमीलाई सहयोग पुगेको छ । सिन्धुलीकै कुरा गर्दा लघु उद्यमीमध्ये ७५ प्रतिशत रोजगारी टेलरिङले सृजना गरेको छ, जसमा महिला नै धेरै छन । यसलाई प्रोत्साहन दिन जरुरी छ । नयाँ खालका व्यवसायमा महिला आकर्षण बढाउन र रोजगारीको सृजना गर्न जरुरी छ ।
जिल्लाका उत्पादनहरुका बजार कहाँ हो ?
धेरै लघु उद्यमीका सामानहरु जिल्ला मै खपत छ । केहि सामानहरुको बजार काभ्रे, काठमान्डौ, ललितपुर, मकवानपुर तथा तराईका जिल्लाहरु प्नि छन । यस्तै केहि सामानको बजार जापान, भारत, अमेरिका पनि रहेको छ ।
जिल्ला लघु उद्यमी समूह संघको ८ वर्षे नेतृत्वपछि प्रदेशको अध्यक्षमा निर्वाचित हुनुभएको छ अब प्रदेशका उद्यमीहरुका लागि के गर्ने योजना बनाउनु भएको छ ?
आर्थिक समृद्धिका लागि उद्यमशिलता नै उपयुक्त बाटो हो । यसले आर्थिक समृद्धिको बाटो खोल्छ । यसका साथै सिप र नेतृत्व विकासको पाटो पनि सँगै हुने हुँदा अबको देशको नेतृत्व गर्ने व्यक्ति नै लघु उद्यमी हुन र यो बाटोमा अझ प्रयास गर्नका लागि मेरो नेतृत्वमा पहल हुने छ । प्रदेशमा लघु उद्यमी र लघु उद्यम विकासका लागि उचित नीति निर्माण गर्न पहल गर्नु मेरो पहिलो दायित्व हो । बजेटमा लघु उद्यमलाई प्राथमिकतामा पार्ने, सहुलियत ऋण र बजारीकरण प्रवद्र्धनमा पहल गर्ने लगाएतका जिम्मेवारी त छदैछन । यस्तै स्थानीय सरकारसँग पनि उद्यमीहरुलाई जोड्न पहल हुनेछ । ३ नं. प्रदेशमा अबको पाँच वर्षमा लघु उद्यमीले राजनीतिको नेतृत्व समेत समालेको हेर्ने गरि काम गर्नु छ । स्थानीय तहको निर्वाचनमा पनि देशभरीबाट ४ सय ६५ जनाले नेतृत्व गरिरहेका छन ।
धेरै लघु उद्यमी महिलाहरु हिंसाबाटै माथि उठेर उद्यममा लागेका छन भनिन्छ नि ? तपाईले के पाउनु भएको छ ?
हिंसामा परेका महिलाहरुले उद्यमशिलतामा आए पछि परिवारको माया पाउन थालेका छन । कतिपयले थप हिंसा भोगेका हुन सक्छन तर जति महिला हिंसाका कारण जीविको धान्न उद्यम विकासलाई रोजे उनीहरुले अहिले माया पाउन थालेका छन । धन र सिप नै सबै हिंसासँग जोडिएको हुदोरहेछ । महिला आर्थिक शसक्तिकरण नै महत्वपूर्ण रहेछ ।
महिला उद्यमीहरुलाई व्यवसायमा टिकाउन के हुनु जरुरी छ ?
सरकारले महिला उद्यमीका लागि विशेष कार्यक्रम ल्यायो भने महिला उद्यमीलाई सहज हुन्छ । सरकारले लगानीका बाटा खुलाउन सक्छ र हौसला प्रदान गर्न सक्छ । यसका लागि हामी समन्वय गर्न पहल गर्छौं र समन्वयमा काम गर्न तयार छौं ।




















