सरोज खतिवडा
सिन्धुली । राज्यले युवाहरुमा लगानी गर्न कन्जुस्याइँ गरेको जिल्ला युवा समिति सिन्धुलीका कार्यालय प्रमुख सत्रुधन यादवले बताएका छन् । राज्यले युवामैत्री योजना भनेर हल्ला धेरै गर्ने गरे पनि व्यवहारमा भने लागु नभएको उनको गुनासो गरे ।
युवाहरुलाई विदेशिनबाट कम गर्नका लागि राज्यले ल्याएको युवामैत्री कार्यक्रमले सम्पूर्ण युवाहरुलाई समेट्न नसकेको भन्दै कार्यक्रमलाई स्तरीय र विस्तृत योजनासहित ल्याउनु पर्ने उनको भनाई छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद् अन्तर्गत जिल्ला युवा समिति सिन्धुलीमा हाल १० जना १६–४० वर्ष उमेर समुहका युवाहरु आधारभूत मोवाइलत मर्मत तालिम लिइरहेका छन् । यसले सिन्धुलीका १ प्रतिशत बेरोजगार युवाहरुलाई पनि समेट्न नसक्ने भन्दै उनले राज्यले युवामैत्री कार्यक्रम तर्जुमा गर्दा देशमा युवाहरुको स्थितीलाई मध्यनजर गरेर गर्नुपर्ने धारणा राखे ।
सिन्धुली जिल्लाका सन्दर्भमा यो तालिमको कोटा कम्तीमा एक पटकमा १०० जान हुनुपर्ने उनको भनाई छ । आवेदन दिएका हरुमध्येबाट जिल्ला युवा समितिको बैठकबाट लक्ष्यीत समूह तथा अन्य विपन्न समुदायका १० जनालाई छनौट गरिएको उनले जानकारी दिए ।
वैशाख २४ गते असार मसान्तसमम्म चल्ने तीन महिने तालिममा हाल ८ जना पुरुष र २ जना महिलाले तालिम लिइरहेका छन् । पहिलो वर्षमा सञ्चालित आधारभूत सिलाई कटाई तालिममा तालिम लिएका मध्ये ७० प्रतिशतले आफ्नो सीपलाई प्रदर्शन गरेर जीविकोपार्जन गरिरहेको र ३ जनाले त ब्यावसायिक रुपमा नै सिलाईकटाई व्यवसाय सञ्चालन गरिरहेको उनको भनाइ छ । सीपलाई व्यवसायिकरण गरेका तीन जनालाई युवा समितिले माथिल्लो तहको सीप समेत सिकाइरहेको उनको भनाइ छ ।
यसैगरी जिल्ला युवा समिति सिन्धुलीका अध्यक्ष संजयकुमार दाहाल युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न युवा समितिले विभिन्न सीपहरु सिकाइरहेको बताएका छन् । युवाहरुलाई विभिन्न सीपहरु प्रदान गरेर उक्त सीपको प्रदर्शन गरी जीविकोपार्जन गर्न सक्षम बनाउन सकेको खण्डमा मात्रै आफूहरुको तालिमको औचित्य पुरा हुने उनको भानइ छ ।
आधारभूत तालिम लिइरहेका गोलञ्जोर ५ का राजेश थापा जिल्ला युवा समितिले आफ्नो बच्चादेखीको चाहना पुरा गर्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गर्छन् । तथापी प्रयोगात्मक क्रियाकलापका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीहरुको अभाव हुँदा तालिम लिन समस्या परिरहेको उनले बताए । यस्ता आधारभूत कुराहरुको व्यवस्थापन गर्न तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण भइदिए आफूहरुले अझ सहज रुपमा सिकेको कुराहरु प्रयोगात्मक रुपमा प्रदर्शन गर्न सक्ने उनको भनाइ छ ।
यस्तै तालिम लिइरहेर्की अर्की प्रशिक्षार्थी दिल कुमारी आले आफूले सोचेअनुरुप नै तालिम सञ्चालन भइरहेको बताइन् । यही क्षेत्रमा नै आफूले काम गर्ने सोच बनाएको बताउँदै युवाहरुलाई देशभित्रै स्वरोजगार बनाउन राज्यले अझ माथिल्ला तहका विस्तृत कार्यक्रमहरु ल्याउनु पर्ने बताइन् ।
यसैगरी तालिमका प्रशिक्षक गणेश प्रसाद आचार्य प्रशिक्षार्थीहरुले आफूले सिकाएको कुरालाई उत्साहजनक रुपमा व्यवहारमा उतार्दै गएको बताउँछन् । अधिकांश प्रशिक्षार्थी विद्यार्थीहरु भएकाले परीक्षा चलिरहेको समयमा उपस्थित हुन नसकेको खण्डमा पनि अन्य साथीहरुसँग सहकार्य गरेर अगाडी बढिरहेको बताए ।
व्यवस्थापकीय पक्षमाथि असन्तुष्टि जनाउँदै उनले कक्षाकोठाको आकार सानो भएकाले प्रयोगात्मक कक्षा सञ्चालनका लागि समस्या हुने गरेको र अत्यावश्यक सामग्रीहरु पनि कम भएको हुँदा समस्या पर्ने गरेको उनले बताए ।
व्यवस्थापकीय पक्षहरुमा कमजोरी भएको कुरालाई कार्यालय प्रमुख यादव स्वीकार गर्दछन् । राज्यले तालिम सञ्चालनका लागि अनुमति दिनेबित्तिकै तालिम सुरु गरिहालेको बताउँदै उनले बजेट स्वीकृत भएपछि यस्ता समस्याहरुको समाधान हुने बताए ।
युवा स्वरोजगारका क्षेत्रमा राज्य संवेदनशील बन्दै युवाहरुलाई देशमै स्वरोजगारउन्मुख सीपहरु सिकाउन राज्यले आफ्नो महत्वपूर्ण भूमिका निभाउनु आजको आवश्यकता बनेको छ । यसले युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरुको बैदेशिक यात्रालाई कम गर्न देशलाई समृद्धीको यात्रामा अगाडी बढ्न सहयोग गर्दछ ।





















