सिन्धुली । जिल्ला स्तरीय संयुक्त अनुगमन टोलीले रोवन सप्लायर्स प्रा.लिबाट उपभोग्य म्याद सकिएको मैदा बरामद गरेको छ । आइतबार अनुगमन टोलीले कनपा ९ ढुंग्रेवासको उक्त सप्लायर्सको गोदाम नं. ३९ बाट ५० केजीको ९ वोरा मैदा बरामद गरि नष्ट गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली लगाएतको टोलीले अनुगमन गर्दा उपभोग्य मिति सकिएको मैदा बरामद गरि नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका सूचना अधिकारी विक्रम श्रेष्ठले विज्ञप्ती मार्फत जनाएका छन ।
उनका अनुसार उक्त सामग्री २८ हजार ८ सय मुल्य बरावरको सामान नष्ट गरिएको छ । रविन सप्लायर्सलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कानुनी कारवाहिका लागि प्रक्रिया अगाडि बढाईएको श्रेष्ठले बताएका छन ।
सप्लायर्सलाई ऐनको दफा ४० ञ बमोजिमको कसुरमा कारवाहिको तयारी गरिएको छ । उक्त दफा अनुसार दुषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा विक्री वितरण गरेमा वा विक्री वितरणमा राखेको पाईएमा पचास हजार जरिवाना हुने व्यवस्था छ । उक्त मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था रहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले आउँदै गरेका नेपालीहरुका चाडहरु दशैं तिहार छठ पर्व समेत नजिक आईरहेकोले उत्पादक, उद्योगी तथा व्यापारीहरुलाई गुणस्तरीय खाद्य पदार्थ विक्री वितरण गर्न आग्रह गरेको छ । यस्तै उपभोक्ताहरुलाई लेवल हेरेर गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्न समेत आग्रह गरेको छ ।























