सिन्धुली । सिन्धुली अस्पतालको फोहोर अब अस्पतालभित्रै व्यवस्थापन गरि मोहरमा परिणत गरिने भएको छ । सिन्धुली अस्पतालमा फोहोर व्यवस्थापनको लागि भवन र मेसिन समेतको व्यवस्था भएसँगै अस्पतालको फोहोर कमलामाई नगरपालिकाले बोक्ने झण्झट समेत टर्ने भएको छ ।
अस्पताल विकास समितिले करीव ३८ लाखको लगानीमा फोहर व्यवस्थापनको लागि घर निर्माण गरेको छ । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि फोहर निर्मलीकरण गर्ने मेसिन (अटोफ्लेप मेसिन) राखिएको छ साथै फोहोरलाई छुट्याएर राख्ने ¥याक भवनमा जडान गरि सकिएको छ ।
फोहोर व्यवस्थापनका लागि अस्पतालले २ जना कर्मचारी सञ्जीव कुमार मेस्तर र पवन कुमार मेस्तरलाई दक्ष बनाईसकेको छ । तालिम प्राप्त ती कर्मचारीले फोहोर व्यवस्थापनको सबै काम गर्ने छन ।
अस्पतालको वार्ड नै पिच्छे रहने फोहोर व्यवस्थापनका कर्मचारी समेत कम लाग्ने भएको छ । वार्डमा फोहोरको वर्गिकरण गर्न वार्ड स्टाफहरुले नै सहजीकरण गर्नेछन ।
अस्पतालको फोहोर व्यवस्थापन मेसिन सञ्चालनमा आएपछि जिल्लाका अन्य क्लिनिक, स्वास्थ्य चौकीका फोहोर समेत निर्मलीकरण गर्न सकिन्छ । अस्पतालभित्र ८ खालको फोहोर हुने र ती फोहोरलाई निर्मलीकरण गरि मोहरमा बदलिने अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए ।
अस्पतालाई मेसिन, ¥याक लगाएतका सामग्री प्लान नेपालसँगको साझेदारीमा काठमान्डौको हिक्याप नामक संस्थाले गरेको हो । संस्थाले जनशक्तिलाई समेत तालिम प्रदान गरेको छ । उक्त संस्थाले फोहोर व्यवस्थापनमा एक करोड बढी लगानी गरेको छ ।
मेसिन २४ सै घण्टा चलाउन सकिने छ । १२१ डिग्री तापक्रममा मेसिनमा फोहोर तताईन्छ र ३५, ४० मिनेट राखेर निकालिन्छ । त्यसपछि संक्रमण रहित सामग्रीको वर्गिकरण गरेर विक्री गरिन्छ ।
यसरी निर्मलीकरण भएर उत्पादन भएको उक्त फोहोर लगानीकर्ता हिक्यापले नै पुनः किनेर लाने सम्झौता भएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए ।
अस्पतालजन्य फोहोरलाई निर्मलीकरण गर्नका लागि सुद्ध पिउने पानी चाहिने भएकाले रिलिफ नेपालको सहयोगमा पानी छान्ने फिल्टर समेत जडान गरिएको छ ।
उक्त फोहोर व्यवस्थापनको काम तत्कालै सुरु गरिने अध्यक्ष पोखरेलले जानकारी दिएका छन । उनका अनुसार ५ प्रतिशत फोहोर मात्र नगरपालिकाको गाडीमा पठाईने र अरु बाँकी फोहोर व्यवस्थापन आन्तरिक रुपमै हुने उनले बताए ।
जसका कारण अस्पतालजन्य फोहोरबाट हुने संक्रमण कम हुने, फोहोरको पुनः प्रयोग हुने र जताततै निडिल सहितका फोहोर फालेर डम्पिङ साईडमा हुने जोखिम समेत कम हुने भएको छ ।




















