सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आलोपालो सिस्टममा सेवा प्रवाह गर्ने भएको छ । साथै जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने व्यक्तिलाई खोप कार्ड अनिवार्य गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै आइतबारदेखि यो नियम लागु गर्ने भएको हो ।
अब कार्यालयमा सेवा लिन आउने नागरिकले खोप कार्ड समेत अनिवार्य रुपमा ल्याउनुपर्ने छ । खोप कार्डसँगै स्वास्थ्यका अन्य मापदण्ड पनि अनिवार्य पालना गर्नुपर्ने छ । मास्क अनिवार्य लगाउनुपर्ने, कार्यालय परिसरमा छिरेपछि साबुन पानीले हात धुनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियम समेत छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाका अनुसार हप्ताको ६ दिनमा नौ स्थानीय तहका नागरिकलाई आलोपालोमा सेवा दिन थालिएको हो ।आइतबारदेखि लागु हुने गरि आलोपालो सिस्टम सुर गरिएको सिटौलाले जानकारी दिए ।
उनका अनुसार कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाका नागरिकले आइतबार र सोमबार सेवा लिन पाउनेछन । दुधौली नगरपालिका, तिनपाटन गाउँपालिका र सुनकोशी गाउँपालिकाका नागरिकले मंगलबार र बुधबार सेवा पाउनेछन भने मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र घ्याङलेख गाउँपालिकाका नागरिकले विहिबार र शुक्रबार सेवा पाउने भएका छन ।



















