सिन्धुली जिल्लामा मतदाता थपिने क्रम जारी छ । पुस १६ गतेपछि जिल्लामा ३ हजार ७६९ महिला र ४ हजार ६७ पुरुष गरि ७ हजार ८ सय ३६ मतदाता थपिएका छन ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार मतदाता नामावली संकलन, सच्चाउने, स्थान परिवर्तन गर्ने लगाएतका कामहरु जारी रहेको छ । सो अनुसार २०७८ पुस १६ गतेपछि लगभग ८ हजार मतदाता थपिएका छन ।
कार्यालयले सुरु गरेको मतदाता नामावली संकलन शिविरमा ९ वटै स्थानीय तहबाट ६ हजार १ सय १३ जना मतदाता थपिएका थिए । जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा १ हजार ७ सय ४० जना मतदाता थपिएका थिए ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका लेखा अधिकृत डिल्ली सौगात घिमिरेले जिल्लामा हालसम्म दुई लाख पाँच हजार ४ सय ३५ जना मतदाता रहेको बताए ।
उनका अनुसार जिल्लामा मतदाता थपिने क्रम जारी छ । जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा मतदाता नामावली सच्चाउने, मतदान केन्द्र परिवर्तन गर्ने, मतदाता नामावली संकलन गर्ने लगाएतका काम भईरहेको छ । निर्वाचन घोषणा नहुन्जेलसम्म यो क्रम जारी रहने पनि उनले बताए ।




















