सिन्धुली । सिन्धुली अस्पताल प्रवेश गर्नका लागि अव खोप कार्ड चाहिने भएको छ । जिल्लामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै यसको रोकथामका लागि अस्पतालमा उपचारका लागि आउने विरामी तथा कुरुवा लगाएतले पुरा डोज खोप लगाएको कार्ड अनिवार्य गरिएको हो ।
संक्रमणलाई न्युन गर्नका लागि र अन्य व्यक्ति तथा विरामीहरुलाई संक्रमण फैलन नदिनका लागि यस्तो गरिएको सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए । उनका अनुसार अस्पतालमा आउने व्यक्तिले खोप नलगाएको पाईएमा गेटमै खोप लगाउन समेत सुरु गरिएको छ ।
अस्पतालमा आउने १८ वर्ष भन्दा माथिका नागरिकलाई खोप नलगाएको पाईएमा खोप लगाउन स्वास्थ्यकर्मी समेत खटाईएको छ । मुल गेटमै पहिलो र दोस्रो डोज खोप लगाउन सुरु गरिएको हो ।
यसैबीच सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रसूति बाहेक सबै शल्यक्रियाका सेवा बन्द गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार संक्रमण रोकथामका लागि अत्यावश्यक बाहेक अन्य शल्यक्रिया बन्द गरिएको हो ।




















