सिन्धुली । कमल थापा निकट राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष इन्द्र भुजेल सहित जिल्ला स्तरीय नेताहरुले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत उनीहरुले पार्टी साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको जनाएका हुन ।

२२ जनाको कार्यसमिति रहेको राप्रपाका सचिव बाहेकका पदाधिकारीहरुले स्वतन्त्र रहने घोषणा गरेपछि राप्रपामा तरंग पैदा भएको छ ।

पार्टी छोडेको घोषणा गर्दै पार्टी अध्यक्ष भुजेलले फेसबुकमा स्टाटस लेख्दै ‘राष्ट्रिय प्रजातन्त्र पार्टीमा विगत २०५४ सालदेखि विद्यार्थी संगठनबाट सुरु गरिएको राजनीतिक यात्रा पार्टीको विभिन्न पदमा रहेर जिल्ला अध्यक्ष समेतको कार्यभार समाल्ने क्रममा विभिन्न कोणबाट सहयोग गर्ने पार्टीका शुभचिन्तक महानुभावहरुमा कृतज्ञता आभार व्यक्त गर्दछु । पार्टी एकता समायोजनको शुभकामना तथा स्वतन्त्र बस्ने निर्णय सहित राप्रपाको सधैँ उन्नति र प्रगति चाहन्छु ।’ भनेका छन ।
केहि समय अघि सोहि पार्टीका केन्द्रीय सदस्य उज्जल विक्रम थापाले पनि पार्टी राजनीति परित्याग गरि विशुद्ध सामाजिक सेवा लाग्ने घोषणा गरेका थिए । उनले पार्टी छोडेसँगै जिल्लामा पनि राप्रपा नेतृत्वले पार्टी छोडेको छ ।
थापाका अनुसार आफ्नै पार्टीले बसेर बनाएको संघियता सहितको संविधान अस्वीकार गर्ने पार्टीको निर्णयले आफुलाई आत्मसम्मानमा चोट पुगेको बताए । राप्रपाभित्र राजावादी, हिन्दुवादी र गणतन्त्रवादी खेमा रहेको बताउँदै उनले आफैले बनाएको संविधान मान्दैनौं भन्न सक्ने अवस्था नरहेको र आजको परिस्थितिमा राजावादी बन्न नसकेका कारण आफुले पार्टी छोडेको बताए ।
उनी पनि सामाजिक सेवामा नै लाग्ने घोषणा गरेका थिए । उनी समाजसेवीका रुपमा पनि चिनिन्छन । शनिवार पार्टी छोडेका जिल्ला नेता समेत थापा निकटका मानिन्छन ।





















