सिन्धुली । यात्राबाट महिलालाई शशक्तिकरण गर्न एक्लै साईकल यात्रामा निस्केकी झापाकी स्वेता श्रेष्ठलाई सोमबार सिन्धुलीमाढीमा स्वागत गरिएको छ ।
कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, उपमेयर मञ्जु देवकोटा, नेकपाका केन्द्रीय सदस्य उमा कोइराला, कमलामाई नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख सत्यदेवी अधिकारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिमला पाण्डे रोट्याक्ट क्लब सिन्धुलीका अध्यक्ष सुजिता खड्का लगाएतले कमलामाई नगरपालिका अगाडि स्वागत गरेका छन ।
उनलाई फूल, अविर, खादा र जुनारको जुसले स्वागत तथा सम्मान गरिएको छ । छोरीहरुलाई कमजोर छैनन, साईकल पेलेरै मेचि महाकाली गर्न सक्छन् भन्ने सन्देश दिन र एक्लै हिड्न सक्छन भन्ने देखाउन साईकल चलाएर पूर्व पश्चिम यात्रा गरेको श्रेष्ठले बताईन ।
लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात अर्थात नोभेम्बर २५ मा झापादेखि यात्रा सुरु गरेकी स्वेताले मेचिको केचनादेखि यात्रा सुरु गरेकी हुन । उनले २२ दिने यात्रा तय गरेकी छिन । २१ औं दिनमा उनले महाकालीको चाँदनी दोधारामा पुगि यात्रा समापन गर्ने छिन । यात्राका क्रममा उनले मुख्य राजमार्गहरु सबै छुने छिन ।
उनी केचना, भद्रपुर, गौरीगञ्ज विराटनगर, धरान, गाईघाट, दुधौली, सिन्धुलीमाढी, हरिहरपुरगढी, हेटौडा, सौराहा, दुम्किवास, लुम्बिनी, चनौटा, लमहि, कोहलपुर, भुरीगाउँ, लम्किचुहा, अत्तरिया र चाँदनी दोधारा पुग्नेछिन ।
उनी आफन्त, चिनजानका साथिहरुको सम्पर्कमा विभिन्न शहर तथा गाउँमा बस्ने गरेकी छिन । लैंगिक हिंसा विरुद्ध महिलालाई साहस भर्न साईकल यात्रा गरेको बताएकी छिन । उनले सन २०१८ देखि साईकल यात्रा सुरु गरेकी हुन ।
यसैबीच सिन्धुलीको दुधौली, भिमान लगाएतका ठाउँमा पनि स्वेतालाई नागरिक सम्मान गरिएको छ ।

























