सिन्धुली / जिल्लामा विहे गर्ने उमेर नपुग्दै आमा बन्नेहरुको तथ्यांक धेरै रहेको पाईएको छ । सिन्धुली अस्पतालको प्रसुति सेवाको तथ्यांकलाई हेर्दा वालविवाह विकराल रुपमा रहेको देखिएको हो ।
जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७६÷०७७ मा प्रसुति सेवा लिन आएका महिलाहरुको तथ्यांकलाई हेर्दा २२ दशमलब ६६ प्रतिशत महिलाहरु विहे गर्ने उमेर नपुग्दै आमा बनेको देखिएको हो । यसरी आमा बन्नेमा १६, १७ वर्ष उमेर देखिका रहेका छन । यसले उनीहरुले १५, १६ वर्षमा विवाह गरेको देखिन्छ ।
नेपालको कानुनले २० वर्ष मुनीको विवाहलाई बालविवाह माने पनि अस्पतालमा सुत्केरी हुने २० वर्ष मुनीका महिलाको संख्या अत्यधिक रहेको छ । जिल्लामा बालविवाहको उजुरी नआउने भए पनि सुत्केरी हुने महिलाको तथ्यांकले बालविवाह अत्यधिक हुने गरेको देखाएको हो ।
आर्थिक वर्ष २०७६÷०७७ मा ९ सय ३१ महिलाले सिन्धुली अस्पतालबाट प्रसुति सेवा लिएका महिलामध्ये २ सय ११ जना महिला २० वर्ष मुनीका रहेको प्रसुति सेवाका नर्सिङ इन्चार्ज रामेश्वरी कायामलीले बताइन ।
उनका अनुसार ती महिलाहरुमा उमेर पुगेर सुत्केरी हुने महिलाहरुको तुलनामा स्वास्थ्य समस्या तथा जोखिम बढी देखिएको छ । एक आर्थिक वर्षमा सिन्धुली अस्पतालमा जन्मेका शिशु मध्ये ६५ जना शिशुमा जटिल स्वास्थ्य समस्याहरु आएको थियो । जसमा आमाको कम उमेर पनि कारण देखिएको उनले बताईन ।
जिल्लाका तीन स्थानीय तहमा एक वर्षमा बाल क्लबहरुको सक्रियतामा ३८ वटा बालविवाह रोकिएको तथ्यांक बाहिर आएको भए पनि यस्ता विवाहहरुका बारेमा प्रहरीमा उजुरी भने पर्ने गरेका छैनन । एक आर्थिक वर्षको तथ्यांक हेर्दा बालविवाहमा १ वटा मात्र उजुरी दर्ता भएका देखिन्छन भने कतिपय विवाहहरु रिपोर्टिङमा आउने गरेका छैनन ।






















